सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं ‘लाइफलाइन’ क्षेत्र नै तनाव ग्रस्त

ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् ।

‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका सवारीसाधन बन्द गरिने जनाएका हुन् ।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिमाना असुल्ने, चालकको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुलीलगायत मनोमानी गरेको उनीहरूको आरोप छ । यसअघिसमेत ट्राफिक प्रहरीले जरिमानाका नाममा मनोमानी गर्ने गरेको भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिँदै आइरहेका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरले उठाएका माग तत्कालै सम्बोधन गरिनुपर्ने बताए । उनले कानुन संशोधनलगायतका नीतिगत विषय सम्बोधन गर्नेगरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने जानकारी दिए ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार ०७:१५