सूचनाको शक्ति - The Power Of Information

        

भाेलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द

यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन् ।

सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन् ।

ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरुले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारी साधन तेस्र्याएर सडक अवरुद्ध गरेका छन् ।

मंगलबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रको सडकमा सवारी साधन तेस्र्याएर सडक अवरुद्ध गरेका हुन् । बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको थियो । यातायात मजदुरहरुले सडकमा सवारी साधन तेस्र्याएर बिरोध जनाएसँगै बालाजु चोकबाट माछापोखरीसम्म सडक अवरुद्ध भएको थियो ।

पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको चालकहरुले बताए । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेस्याइएको थियो ।

मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् । यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका थिए । उनीहरु हिँडेरै गन्तव्यस्थल जान बाध्य भएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १८:४१