सूचनाको शक्ति - The Power Of Information

        

गर्भावस्थामा कस्मेटिक कति सुरक्षित ?

गर्भवती धेरै कुरामा होसियार हुन्छन् । गर्भवती हुँदा मदिरा पिउन र धूमपान नगर्न दिइएका निर्देशन सामान्य भए पनि कस्मेटिम वा सफा गर्ने उत्पादक सामग्रीका बारेमा भने बिरलै उल्लेख गरिएको हुन्छ । कस्मेटिक पदार्थमा पाइने पिथालेट्स, पाराबेन र लिडले गर्भवतीमा अरु समस्या थपिदिन्छ । निम्न रसायनका बारेमा गर्भवती सावधान हुनुपर्छ ।

लिड

लिपिस्टिक, आइस्याडो लगायतका अन्य कस्मेटिक सामग्रीमा प्रयोग हुने साझा तत्व हो, लिड । कस्मेटिक सामग्रीमा २० पिपिएम लिड राख्न अनुमति दिइए पनि विभिन्न ब्रान्डले अत्यधिक मात्रामा यो धातुको प्रयोग गरी स्वास्थ्यलाई नै गम्भीर हानि पुर्याएका हुन्छन् । लिड गर्भनाल र दूध ग्रन्थिमार्फत् प्रवाह हुने र भ्रुण विकासलाई असर गर्ने भएकाले गर्भवती र दूध चुसाउने महिलाका लागि लिड हानिकारक हुन्छ ।

इसोट्रेटिनोनिन

यो औषधि छालाको रोग नियन्त्रण गर्न प्रयोग गरिन्छ । क्रिमलगायत मेकअपका सामग्री उत्पादन गर्न पनि यसको प्रयोग गरिन्छ । अर्काइभ अफ डर्मोेटोलोजीमा प्रकाशित एक अध्ययनअनुसार गर्भावस्थामा इसोट्रेटिनोनिनको एक्सपोजले भ्रुणमा गम्भीर असर भई बालबालिका जन्मिँदै सुस्त मनस्थितिका हुन्छन् र भ्रुणको राम्रो विकास समेत हुँदैन । तसर्थ, यस्ता सामग्री प्रयोग गर्नुअगाडि चिकित्सकहरुको परामर्श लिनुहोस् ।

पिथालेट्स

साबुन, स्याम्पु लगायतका केयर प्रोडक्टमा पाइने पिथालेट्सको दीर्घकालीन प्रयोगले पाँचदेखि १३ साताभित्र गर्भ खेर जाने सम्भावना हुन्छ । कारखानामा विभिन्न रसायनसँग एक्सपोज हुने महिला प्रिगनेन्सी कम्प्लिकेसनबाट पीडित छन् ।

ट्रिक्लोसान र ट्रिक्लोकार्बन

साबुन, टुथपेस्ट र हामीले दैनिक प्रयोग गर्ने सामग्रीमा यस्तो रसायन हुन्छ । ट्रिक्लोसान र ट्रिक्लोकार्बनले गर्भवतीको स्वास्थ्यमा समस्या ल्याउनुका साथै नवजात शिशुको आकारमा पनि असर गर्छ ।

एमोनिया

कपाल रंग्याउने उत्पादनमा एमोनिया, फेनिडायममाइन्स र रिर्सोसिनोल रसायन हुन्छ । यसले छालामा एलर्जी ल्याउँछ । यी रसायनहरुबाट क्यान्सर हुने सम्भावना समेत हुन्छ । तसर्थ गर्भवतीले स्वाभाविक कलरको प्रयोग गर्नुपर्छ ताकि उनीहरुको शिर र कपाललाई कुनै असर नगरोस् । यस्ता रसायनको प्रयोगले प्रिम्याचुअर वर्थ, न्यून तौल भएका शिशुको जन्म र भ्रुणमा असर परी शिशु नै सुस्त मनस्थितिको हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १०:४६