सूचनाको शक्ति - The Power Of Information

        

‘भगवान’को तहमा उठाएका पात्र

धुर्मुस–सुन्तलीका दुःख : ठूला पर्दाले नपत्याएपछि ‘डकुमेन्ट्रीतिर’

धुर्मुस–सुन्तली कुनै समय नेपाली दर्शकले कलाकारबाट ‘भगवान’को तहमा उठाएका पात्र हुन् ।

दुःख छ पुराना सेलिब्रिटीको । निर्माता, निर्देशकले पत्याउन छाडिहाले । साना तथा ठूला पर्दामा काम पाउन छाडेपछि आफैं लगानी गरेर भए पनि रहर त पूरा गर्नैपर्यो । केही नपाए आफ्नै युट्युब च्यानलमा भए पनि देखिनै पर्यो ।

यसअघिका पुराना कलाकारले धमाधम मुर्गा खोजेर तिनलाई लगानी गर्न लगाउने, फिल्म बनाउने, सन्तानलाई नायक वा नायिकाका रूपमा खेलाउँदै आएकोमा झरना थापा, करिष्मा मानन्धरको पदचाप पछ्याउँदै छिन् कुञ्जना घिमिरे ‘सुन्तली’ले ।

उनले हालै मात्र छोरी सुबिहानीको व्यानरमा ‘मै राम्री’ नामक श्रृंखला बनाएर धुर्मुस–सुन्तलीको युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन् । कुञ्जनाको एकल निर्देशनमा वेब सिरिज ‘मै राम्री’ निर्माण गरिएको हो ।

उक्त सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय देख्न पाइन्छ ।

शिव शर्माको कन्सेप्ट, सन्देश अर्यालको लेखन, राहुल राईको छायांकन, राजेन्द्र बजगाईंको संगीत, सन्तोष क्षेत्री र रविन भट्टको सम्पादन रहेको यो सिरिज हरेक बिहीबार साँझ पौने सातमा आउने जनाइएको छ । धुर्मुस सुन्तली कुनै समय नेपाली दर्शकले कलाकारबाट ‘भगवान’को तहमा उठाएका पात्र हुन् ।

अति महत्वाकांक्षी योजनामा हात हालेका र राज्य र महानगरको असहयोग भएको कारण देखाउँदै बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बीचैमा छोडेर हिँडेको यो जोडीले संघीय सबै मन्त्रालयमा पुगेर डकुमेन्ट्री बनाउने प्रस्ताव पेश गर्यो ।

प्रायः सबै मन्त्रालय, निर्वाचन आयोगदेखि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, कन्सुलर विभाग, राहदानी विभाग, जिल्ला प्रशासनसम्मका सरकारी कार्यालयको डकुमेन्ट्री निर्माण गर्यो । उनीहरूले एउटा सरकारी निकायबाट ४ देखि ५ लाख लिएर डकुमेन्ट्री निर्माण गरेको सरकारी अधिकारीहरू बताउँछन् ।

यो कार्य गरेर झण्डै एक करोड राज्यबाट उठाइयो र प्रोजेक्ट सकिएलगत्तै सुन्तलीकै निर्देशनमा ‘मै राम्री’ निर्माण गरी प्रसारण प्रारम्भ गरिएको हो । उसो त झरना थापाले आफू निर्देशक, श्रीमान् सुनीललाई निर्माता बनाएर छोरीका लागि ‘ए मेरो हजुर’ बनाउन भ्याएकै थिइन् ।

एकताकाकी चर्चित सूर्यकुमारी (करिष्मा)ले छोरी कविताका लागि बनबास फिल्म बनाउने घोषणा भएकै हो । यसअघि उनैले बनाएको फागुले पानीसमेत पिउन पाएको थिएन । बाउ निर्माता, आमा निर्देशक बनेर चलचित्र निर्माण गर्ने र सन्तानलाई नायक वा नायिकामा खेलाउने रोगले नेपाली सिनेमालाई गाँज्दै लगेको छ ।

यसअघि भुवन केसीले छोरा अनमोललाई लिएर पारस द अनलक्की म्यान निर्माण गर्ने बताएका थिए । टीका पहारीले छोरा गौरवका लागि, सोभितले सलोन बस्नेतका लागि चलचित्र निर्माण गर्न भ्याए । नारायण पुरी निर्देशक रहेको आगोमा छोरा संयमलाई हिरो बनाए ।

यस्तो एउटा प्रेम कहानीमा शिव श्रेष्ठले शक्तिलाई नायक बनाउन भ्याए । अहिले नेपाली सिने क्षेत्रमा मौलाएको र थपिएको एउटा विकृति हो ‘नेपोटिज्म’ । यस्तो दृश्य नजिकबाट नियालिरहेका चलचित्र समीक्षकहरूचाहिँ भन्न थालेका छन्, ‘बोकेको बाघले शिकार गर्छ र ?’

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार १४:११