सूचनाको शक्ति - The Power Of Information

        

अन्तरप्रदेश पर्यटकीय सडक निर्माण

बाँके–सल्यान सडक, ‘६४ बर्षदेखि चुनावी नारामै सिमित’

बाँके–सल्यान सडक निर्माण २०१५ सालबाटै केही उम्मेदवारको चुनावी नारा बन्दै आएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सबै उम्मेदवारले चुनावी मुद्दा बनाएको नेपालगन्ज–सल्यान पर्यटकीय सडक निर्माण सुरु गर्न स्थानीयवासीले दबाब दिन थालेका छन् ।

बाँकेको चप्परगौँडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय सडकको निर्माणलाई निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएका थिए ।

यो सडकको निर्माण २०१५ सालबाटै केही उम्मेदवारको चुनावी नारा बन्दै आएको छ । यस पटक पनि सबै राजनीतिक दलले यो सडक निर्माणको एजेन्डालाई प्राथमिकतामा पारेर चुनावी मुद्दा बनाएका हुन् ।

कोहलपुरलाई आर्थिक तथा सामाजिक रूपले सबल बनाउन कोहलपुर–चप्परगौँडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी भएको कोहलपुर नगरपालिका–१३ का स्थानीय अगुवा लालबहादुर रानाले बताए ।

उनले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी सूर्य ढकाल र प्रदेशसभामा विजयी दुर्गाबहादुर चौधरीले पनि चुनावताका यो सडकलाई चुनावी नारा मात्रै बनाए । विजयी उम्मेदवारले निर्माणको पहल गर्नुपर्छ, चुनावमा उहाँहरूको एजेन्डा पनि यही सडक थियो ।

जनप्रतिनिधि ढकाल र चौधरीले पनि सो सडक निर्माणलाई आफ्नो चुनावी एजेन्डा बनाएकाले अब पहल गर्नुपर्ने स्थानीयको माग छ । कोहलपुरका अर्का स्थानीय नीरज थापाले चुनावका बेला गरेको प्रतिबद्धता अनुसार अब काम गरेर देखाउनुपर्ने बताए ।

उनले भने, ‘अब सडक निर्माणको पहल सुरु गर्नुपर्छ ।’ सांसद ढकालले यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोसेढुङ्गा साबित हुने भएकाले अझै पनि यसको निर्माण प्रमुख प्राथमिकतामा रहेको बताए ।

उनले यो सडक निर्माण यस क्षेत्रको आर्थिक विकाससँग सोझै जोडिएकाले आफूले यसका लागि पहल थालिसकेको बताए । प्रदेश सभाका सांसद चौधरीले पनि कोहलपुर–चप्परगौँडी–खड्कवार–घुइँयाबारी हुँदै बाँकेलाई सल्यानसँग जोड्ने सो पर्यटकीय मार्ग निर्माणका लागि सङ्घीय सांसदसँग समन्वय भइरहेको बताए ।

सल्यान, सुर्खेत, प्युठान र रोल्पासम्म पुग्न छोटो तथा कम खर्चमा यात्रा गर्न सकिने सो सडक सञ्चालन गर्न सके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यान लगायतका स्थानमा सहजै पुर्याउन सकिनेछ । चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार ११:४९