सूचनाको शक्ति - The Power Of Information

        

११ करोड रुपैयाँ खर्चिएको विमानस्थल अलपत्र

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा १० महिनादेखि हवाई उडान बन्द भएको छ । करिब तीन वर्षअघि ११ करोड रुपैयाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको विमानस्थल कालोपत्रे गरिएको थियो ।

वि.सं. २०३६ देखि २०५२ सम्म नियमित उडान हुने गरेको पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द थियो । विमानस्थल कालोपत्रे भएपछि डेढ वर्षअघि हप्ताको एक दिन बैतडी–धनगढी उडान भए पनि गएको १० महिनादेखि पुनः उडान बन्द छ ।

धनगढी–बैतडी–धनगढी १७ मिनेट हवाई दूरीमा समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । पाटनमा पुनः उडान बन्द हुँदा आकस्मिक रूपमा उपचार गर्न जाने बिरामी समस्यामा परेका छन् ।

पाटन विमानस्थलमा उडान सेवा सुरु हुने कुनै सुनिश्चित नभएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आउँदो फागुनमा उडान हुन सक्ने भनिए पनि आधिकारिक जानकारी नआएको उनले बताए ।

हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु समस्यामा परेका छन् । हवाई उडान नहुँदा आकस्मिक रूपमा बिरामी भएकालाई सुविधासम्पन्न अस्पतालमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय वसन्त विष्टले बताए ।

पाँच करोडमा टर्मिनल भवन

पाटन विमानस्थलमा चार करोड ९७ लाखको लागतमा निर्माण भइरहेको टर्मिनल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर कवीन्द्र वज्राचार्यले जानकारी दिए ।

विमानस्थलमा हवाई उडान बन्द भए पनि टर्मिनल भवनको काम भने पूरा हुने अवस्थामा पुगेको उनले बताए । राज्यले करोडौँ लगानी गरेर निर्माण गरेको विमानस्थलमा हवाई सेवा सञ्चालन नहुँदा लगानी खेर गएको स्थानीयको भनाइ छ । निर्माण भएको विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल चाल्नु पर्ने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार ११:३५