सूचनाको शक्ति - The Power Of Information

        

पाँच हजार गर्भवती रसियाली महिला अर्जेन्टिना प्रवेश

गएको केही महिनाहरूमा पाँच हजारभन्दा बढी रसियाली गर्भवती महिलाहरू अर्जेन्टिना प्रवेश गरेका छन् । जसमध्ये गत बिहीवारमात्रै एकै विमानबाट ३३ जना महिला अर्जेन्टिना प्रवेश गरेको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो पटक आएका सबै महिलाहरु गर्भावस्थाको अन्तिम हप्तामा रहेको अर्जेन्टिनाको राष्ट्रिय अध्यागमन एजेन्सीले जनाएको छ । ती महिलाहरूले आफ्ना सन्तानहरूले अर्जेन्टिनाको नागरिकता पाउन् भन्ने आशासहित त्यहाँ बच्चा जन्माउन पुगेको बुझिएको छ ।

यसरी अर्जेन्टिना प्रवेश गर्ने महिलाहरुको संख्या पछिल्ला समय बढ्दै गएको छ । यो युक्रेनमा युद्धको परिणाम भएको हुन सक्ने स्थानीय मिडियाले उल्लेख गरेको छ । बिहीवार एकै विमानबाट अर्जेन्टिना प्रवेश गरेका ३३ मध्ये तीन महिलाहरुको कागजात नमिलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

अघिल्लो दिनमा पनि सो समस्याका कारण तीन जना महिलालाई नियन्त्रणमा लिइएको अध्यागमन एजेन्सीकी प्रमुख फ्लोरेन्सिया क्यारिग्नानोले बताइन् । ती रसियाली महिलाहरूले सुरुमा आफू पर्यटकका रूपमा अर्जेन्टिना आएको दाबी गरेको उनले जानकारी दिइन् ।

‘उनीहरू यहाँ पर्यटन गतिविधिमा संलग्न हुन नआएको पत्ता लाग्यो, जुन कुरा उनीहरू आफैँले पछि स्वीकार गरे,’ उनले भनिन् । रसियाली महिलाहरुले आफ्ना सन्तानलाई अर्जेन्टिनाको नागरिकता दिन चाहेको बताएको उनले जानकारी दिइन् । रसियाली राहदानीभन्दा अर्जेन्टिनाको राहदानीले आफ्ना सन्तानले बढी स्वतन्त्रता दिने उनीहरुको बुझाइ थियो ।

‘समस्या के हो भने उनीहरू अर्जेन्टिना आउँछन्, आफ्ना छोराछोरीलाई अर्जेन्टिनी भएको बताउँछन् र यहीँ छोड्छन् । हाम्रो राहदानी संसारभरि धेरै सुरक्षित छ । हाम्रा राहदानी–धारकहरूलाई १७१ देशहरूमा भिसाबिना प्रवेश गर्न अनुमति दिन्छ,’ क्यारिग्नानोले भनिन् ।

आफ्ना सन्तान अर्जेन्टिनाको नागरिक भए आमाबाबुको लागि नागरिकता प्रक्रियालाई पनि छिटो हुन्छ । हालसम्म तथ्यांकअनुसार रसियालीहरू केवल ८७ देशहरूमा भिसा बिना यात्रा गर्न सक्छन् । बिहीवार पक्राउ परेका तीन महिलाका एक वकिलले उनीहरूलाई ‘नक्कली पर्यटक’ भएको आशंकामा थुनिएको तर यो ‘झूटो मुद्दा’ भएको बताए ।

उक्त कुरा ‘विद्यमान कानुनमा नभएको’ अधिवक्ता क्रिश्चियन रुबिलरले बताए । ‘कुनै पनि अपराध नगरेका, कुनै आप्रवासी कानुन नतोडेका यी महिलाहरूलाई गैरकानुनी रूपमा उनीहरुको स्वतन्त्रताबाट वञ्चित गरिएको छ,’ उनले थपे । लगत्तै ती महिलाहरुलाई रिहा गरिएको छ ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २९ माघ २०७९, आइतवार १०:५२