सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ८६ मेगावाट विद्युत्

सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो ।

सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार ६७९ मिटर लामो सुरुङमार्ग र १ हजार ९३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दूधकोशी गाउँपालिका–३ मैकुबेसिमा खसाई ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।

नदी प्रवाहमा आधारित विद्युत् आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ । साहास ऊर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाको ग्रस हेड ६१३ मिटर छ । परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताए ।

विसं २०७२ को असोजमा विद्युत् विकास विभागबाट जेनेरेशन लाइसेन्स लिएको कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालीयन कम्पनी सिएमसिदि रिभेन्नाले पाएको थियो । सम्झौता अनुसार काम नगरेको भन्दै इटालीयनसँग ठेक्का तोडेर फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो ।

त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको हो । आयोजनाको हाइड्रो मेकानिकलको ठेक्का माछापुच्छ्रे एण्ड मेटल वर्क सप र इलोक्ट्रो मेकानिकलको ठेक्का भाइथ हाइड्रोले लिएको थियो ।

कूल २५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कूल लागतमा निर्माण सम्पन्न भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको नेतृत्वमा १० बैंकको यस आयोजनामा लगानी छ । केन्द्रीय प्रसारण लाइन जोडिएसँगै अबको १५ दिनभित्र व्यावसायिक उत्पादन गरिने कम्पनीका अध्यक्ष पाठकको भनाइ छ ।

यसअघि सोलुखोलामै निर्माण भएको २३ दशमलव पाँच मेगावाट क्षमताको अपर सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सोलुखोलामा अझै १५० मेगावाटभन्दा बढी क्षमताका विद्युत् आयोजना निर्माणको क्रममा छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार ०८:५२