सूचनाको शक्ति - The Power Of Information

        

क्लब विश्वकपको उपाधि रियल म्याड्रिडलाई

स्पेनिस क्लब रियल म्याड्रिडले साउदी क्बल अल हिलाललाई पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको छ। कुल ८ गोल भएको खेलमा रियल म्याड्रिडले कीर्तिमानी पाँचौ पटक क्लब विश्वकपको उपाधि जितेको हो।

मोरक्कोस्थित प्रिन्स अब्देल्लाह स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले ५-३ गोल अन्तरले खेल आफ्नो पक्षमा पारेको थियो। रियललाई जित दिलाउन भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले समान दुई-दुई गोल गरेका थिए। त्यस्तै, करिम बेन्जिमाले एक गोल गरेका थिए।

अल हिलालका लुसियानो भिट्टोले दुई गोल गर्दा मोउसा मरेगाले एक गोल गरेका थिए। खेलको १३ औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा फेडेरिकोले गोल गर्दा रियलले सुरुवातमा नै अग्रता दोब्बर बनायो।

खेलको २६ औँ मिनेटमा मोउसाले गोल गर्दै हिलाललाई खेलमा फर्काउँदै २-१ को अबस्थामा ल्याए। दोस्रो हाफमा पनि रियलले उत्कृष्ट प्रदर्शन जारी राख्यो। खेलको ५४ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता ३-१ मा पुर्‍याएका थिए। ५८ औँ मिनेटमा फेडेरिकोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४-१ को सहज अग्रता दिलाए।

खेलको ६३ औँ मिनेटमा भिट्टोले गोल गर्दा हिलाललाई ४-२ को स्थितिमा ल्याए। ६९ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ५-२ ले अघि रह्यो। त्यसपछि खेलको ७९ औँ मिनेटमा हिलालका भिट्टोले व्यक्तिगत दोस्रो गोल गरे पनि रियलको ५-३ को फराकिलो जित रोक्न भने पर्याप्त भएन।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार ०८:४८