सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारीसँगको नाजायज सम्बन्ध बाहिरिएपछि नगरप्रमुखले दिए राजीनामा

क्यानडेली सहर टोरन्टोका प्रमुख जोन टोरीले कर्मचारीसँगको आफ्नो विवाहेत्तर सम्बन्धलाई लिएर राजीनामा दिएका छन् । विवाहित उनले शुक्रबार अबेर पत्रकार सम्मेलन गरेर कर्मचारीसँगको नाजायज सम्बन्धलाई स्वीकार गर्दै राजीनामा दिएका हुन् ।

महामारीका बेला आफूले एकजना कर्मचारीसँग सम्बन्ध कायम गरेको तथा नगरप्रमुखका निम्ति त्यो काम शोभनीय नभएकाले पदबाट राजीनामा गरेको बताए । आफ्ना गल्ती मनन् गर्न तथा परिवारको विश्वास पुनःआर्जन पनि आफूले पदबाट राजीनामा दिएको उनले बताए ।

टोरन्टो स्टारले उनको नाजायज सम्बन्ध सम्बन्धी समाचार प्रकाशन गरेको एक घण्टापछि पदत्याग गरेका हुन् । विवाहभन्दा बाहिरको आफ्नो त्यो सम्बन्धलाई गम्भीर त्रुटिका रुपमा स्वीकार गर्दै ६८ वर्षीय टोरीले टोरोन्टोका जनता, आफ्ना सहकर्मी, श्रीमती र परिवारसँग क्षमा याचना गरेको बताए ।

पारस्परिक सहमतिमा विवाहभन्दा बाहिरको सम्बन्धलाई अन्त्य गरेको तथा त्यससम्बन्धमा सहरका सम्बन्धित अधिकारीलाई जानकारी दिएको उनले बताए । तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका टोरीले चार महिना नपुग्दै पदबाट राजीनामा दिएका हुन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २९ माघ २०७९, आइतवार ०८:४४