सूचनाको शक्ति - The Power Of Information

        

आज देशभरका स्वास्थ्य संस्था बन्द

नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो ।

संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठीजार्च गरी घाइते बनाएको घटनप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संघले त्यसको विरोधमा माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि भीभीआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुराअवस्था सिर्जना गरिएकोप्रति स्तब्ध भएको जनाएको छ ।

लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने काम भएको भन्दै संघले सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको जनाएको छ ।

गणतन्त्र नेपालमा यो वा त्यो बहानामा दुःख, सास्ती र अस्वभनीय कार्य सदाका लागि बन्द गर्न समेत संघले सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ । शुक्रबार राष्ट्रपति भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि प्रहरीले डाक्टर सिंह र अन्य स्वास्थ्यकर्मीमाथि लाठि चार्ज गरेको थियो । लाठी चार्जका क्रममा घाइते भएका डा.सिंह अहिले अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार ०८:१९