सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिको सवारीमा डाक्टर कुट्ने प्रहरी कारबाहीमा

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सक कुट्ने प्रहरी निलम्बनमा परेका छन् । चिकित्सकलाई कुटपिट गर्ने प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका हुन् ।

शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर राष्ट्रपति शीतल निवास फर्कने क्रममा सुरक्षामा खटिएका प्रहरी वरिष्ठ हवल्दार गुरुङले वीर अस्पतालमा कार्यरत चिकित्सकलाई कुटपिट गरेका थिए ।

राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह वरिष्ठ हवल्दार गुरुङले कुटपिट गरेका थिए । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले चिकित्सकमाथि हातपात गर्ने गुरुङलाई छानविनका लागि निलम्बन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १६:३०