सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने, ‘रेशम छुटाउन आजैदेखि लागिसके’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरी जेलबाट छुटाउन आजैदेखि लागिसकेको बताएका छन् । शनिबार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरीको घरमा पुगेर उनकी आमासँग भेट गर्दै चौधरीलाई जेलबाट छुटाउन अभियान थालिसकेको बताएका हुन् ।

हिजो (शुक्रबार) मात्र कार्यभार सम्हालेका मुख्यमन्त्री शाहले टीकापुर हत्याकाण्डमा दोषी प्रमाणित भई डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीलाई छुटाउन आफूले अभियान थालिसकेको र त्यसमा आफू लागिसकेको बताएका छन् । उनले कैलालीको जानकी गाउँपालिका ६ स्थित जगतपुरमा रहेको रेशमको घरमै पुगेर उनकी आमा सुल्फीदेवी चौधरीलाई धन्यवाद पनि दिएका थिए ।

रेशमकी आमासँग उनले भने, ‘तपाईंहरूकै आशीर्वादले म मुख्यमन्त्री बनेको हुँ ।’ टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाइ थियो । ‘टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुर्याएको छ । हामी त्यसलाई पुरानै स्थितिमा ल्याउने प्रयास गरिरहेका छौँ’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्र सरकारले रेशम चौधरीलाई छिटो रिहा गर्नुपर्छ। म त्यसको लागि लागिपरेको छु ।’

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्ति पार्टी प्रदेशसभा बैठकमा उपस्थित नभएपछि विश्वासको मत नपाउँँदा राजीनामा दिएका थिए । रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए । शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले आफूले ३० दिन भित्र विश्वासको मत पाउने दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १६:०९