सूचनाको शक्ति - The Power Of Information

        

धार्मिक महामहोत्सव–२०७९

नेपालगन्जमा धार्मिक महामहोत्सवको तयारी तीव्र

महामहोत्सवले दुर्गा भगवती मन्दीरको विकासका साथै बाँकेकै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ मा धार्मिक महामहोत्सव २०७९ को तयारी तीव्र पारिएको छ । यही फागुन १ गतेदेखि ७ गतेसम्म महामहोत्सव सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

काँरकादोस्थित दुर्गा भगवती मन्दीरमा सतसंग भवन एवं अतिथी गृह निर्माणार्थ महामहोत्सव आयोजना गर्न लागिएको बाँके नेपालगन्ज काँरकादो धार्मिक महामहोत्सव २०७९ आयोजक समितिका उपाध्यक्ष सुनिता खड्काले जानकारी दिइन् ।

‘महामहोत्सव नजिकै आइसकेका छौं, यतिबेला तयारीलाई तीव्र बनाएका छौं । महामहोत्सव भव्यरुपमा सम्पन्न हुनेमा पूर्ण विश्वत पनि छौं,’ उनले भनिन्, ‘महामहोत्सवलाई सफल बनाउन सबैतिरबाट सोचेंभन्दा धेरै साथ र सहयोग पाइरहेका छौं ।’

श्री ईश्वरशरण महाराज जी संकल्पकर्ता रहेको महामहोत्सव श्री परषेतमशरण लम्सालले कथा वाचन गर्ने आयोजक समितिका अध्यक्ष सुवर्ण गिरीले जानकारी दिए । उनका अनुसार महामहोत्सवले नेपालगन्जको धार्मिक महत्वलाई थप उजागर गर्नेछ ।

साथै महामहोत्सवले दुर्गा भगवती मन्दीरको विकासका साथै बाँकेकै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको पनि अध्यक्ष गिरीले बताए । महामहोत्सवमा जिल्लाका विभिन्न क्षेत्रबाट भक्तजनहरूको आगमन हुने जनाइएको छ ।

महामहोत्सवका लागि मन्दिरको सरसफाइ तथा अन्य सजावट गर्ने काम गरिरहेको जानकारी दिँदै समितिका सचिव रामकृष्ण चौधरीले महामहोत्सवमा धेरैभन्दा धेरै भक्तजन तथा शुभेच्छुकहरुको सहभागिता गराउन लागिपरेको बताए ।

महामहोत्सव अन्तरगत यही फागुन १ गते विहान ८ बजे नेपालगन्जमा कलश यात्रा गरिने समितिका सहसचिव गणेश बोहराले जानकारी दिए । उनका अनुसार महामहोत्सव उद्घाटन कार्यक्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनेछ ।

आयोजक समितिका कोषाध्यक्ष विश्वकला कोइरालाका अनुसार महामहोत्सव सम्पन्न गर्नका लागि १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धार्मिक पर्यटनको प्रवर्द्धनार्थ आयोजित महामहोत्सवमा सबैले सहयोगका लागि हातेमालो गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १४:१५