सूचनाको शक्ति - The Power Of Information

        

आगमन कक्षमा यात्रुलाई सहज सेवा

नेपालगन्ज विमानस्थलमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’ सञ्चालनमा

दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा ‘कन्भेयर बेल्ट’ प्रणाली जडान गरिएको हो ।

देशकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये अग्र स्थानमा रहेको नेपालगन्ज विमानस्थलको आगमन कक्षमा शुक्रबारदेखि अत्याधुनिक ‘ब्यागेज हैन्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइएको बताए ।

उनले अब विभिन्न ठाउँबाट नेपालगन्ज पुगेका यात्रुको सामानलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन सकिएको बताए । दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा ‘कन्भेयर बेल्ट’ प्रणाली जडान गरिएको हो ।

यसअघि आगमन कक्षमा आएको यात्रुको सामानलाई कर्मचारीले हातले वितरण गर्दा निकै समय लाग्ने र झन्झटिलो समेत रहेको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुरेश खनालले बताए ।

उनले अब यात्रु र एयरलाइन्स दुवैलाई सामान लिन दिन सहज भएको बताए । नेपालगन्ज विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टको लम्बाइ ४०.६ मिटर र लगेज हैन्डलिङ क्षमता प्रतिघण्टा दुई हजार ४०० देखि तीन हजारसम्म रहेको छ ।

नेपालका विभिन्न आन्तरिक विमानस्थलमा यात्रुको सेवासुविधा अभिवृद्धि गर्ने योजनाअनुरूप पहिलो चरणमा नेपालगन्ज, विराटनगर र धनगढीमा ब्यागेज हैन्डलिङ सिस्टमअन्तर्गत कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार ११:२५