सूचनाको शक्ति - The Power Of Information

        

पार्टी एकताको राजनीति

अब माओवादी केन्द्र नरहने, नयाँ नाम ‘नेकपा समाजवादी केन्द्र’ !

एकता प्रयासमा रहेका पाँचै दलको लक्ष्य समाजवाद नै रहेकाले नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी केन्द्र’ हुन सक्ने देखिएको छ ।

नेकपा माओवादी केन्द्र पार्टीको नाम र चुनाव चिन्ह फेर्ने निष्कर्षमा पुगेको छ । अन्य कम्युनिष्ट शक्तिहरुसँग एकताका लागि सहज हुनेगरी नयाँ नाम राख्ने माओवादीको तयारी रहेको छ । माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव अनुमोदन भएको थियो ।

स्थायी समितिमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘पार्टी एकता र संयुक्त मोर्चा’बारे भनिएको छ, ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने । तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’

माओवादीले पछिल्लो समय नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेकपा लगायतसँग एकताका लागि वार्ता गरिरहेको छ । एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी गठनका लागि तयार रहेता पनि जसपा र नेसपा समाजवादी प्रकृतिको पार्टी गठन गर्नुपर्ने पक्षमा रहेका छन् ।

माओवादीले यी चारै दललाई समेट्दै नयाँ गठन गर्ने गरी साझा प्रकृतिको नाम जुराउने कोशिष गरिरहेको छ । त्यसो त यो नामको बारेमा माओवादीभित्र यसअघि पनि छलफल भएकै हो । र, अन्य सबै साना शक्तिहरुलाई एकतावद्ध गर्न सकिन्छ भने नाममा कम्युनिष्ट भनेर अल्झिरहनुपर्ने कारण नहुने धेरैको मत रहँदै आएको छ ।

एकता प्रयासमा रहेका पाँचै दलको लक्ष्य समाजवाद नै रहेकाले नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी केन्द्र’ हुन सक्ने माओवादीका एक नेताले बताए । ती नेताले भने, ‘समाजवादी केन्द्र मात्रै भन्दा कम्युनिष्ट पृष्ठभूमिका पार्टीहरु एकतावद्ध हुन नसक्ने भएकाले दुवै पक्षको भावना र विचार कदर गर्न सक्ने नाम ‘नेकपा समाजवादी केन्द्र’ हुनसक्ने विषयमा छलफल भएको छ । सहमति जुटे यही नाम हुनसक्छ ।’

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ११:२२