नेकपा एमालेले सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र हुन थालेको निष्कर्ष निकालेको छ । एमाले सचिवालयको बिहीबार बसेको बैठकले सत्ता गठबन्धन टुटाएर सरकार गिराउने षड्यन्त्र हुन थालेको निष्कर्ष निकालेको हो ।
सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वमा बनेको सरकार विश्वासको मत नपाएर ढलेपछि गठबन्धनमा संकट आएको एमाले निष्कर्ष छ । गठबन्धन संकटमा परेपछि सरकार पनि त्यसबाट अछुतो हुने कुरा भएन । सुदूरपश्चिम प्रदेशका मुुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिएर धोका दिएको एमाले आरोप छ ।
‘सत्ता गठबन्धन र सरकार सामु चुनौती र षड्यन्त्र दुवै छन्, यी दुवैको सामना गरेर अघि बढ्नुको विकल्प छैन’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने। पार्टी कार्यालयमा बसेको बैठकले सत्ता गठबन्धनलाई जोगाएर अघि बढ्ने संकल्पसमेत गरेको छ ।
‘जनतामा निराशा बढ्न थालेपछि त्यस्ता विषयलाई सम्बोधन गरेर जान हालको गठबन्धन र सरकारलाई टिकाएर लानुपर्छ । यसमा धेरै चुनौती छन्, षड्यन्त्र हुन थालेको छ तर टिकाएर लानुपर्छ भन्ने संकल्प गरेका छौं,’ ज्ञवालीले भने ।
सत्यपाटी संवाददाता । काठमाडौँ