नेकपा एमालेले सङ्गठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र सङ्गठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ‘मिसन ग्रासरुट’ नाम दिइएको अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पार्टीलाई वैचारिक र सङ्गठनात्मकरूपमा जगैदेखि बलियाे बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताउनुभयो ।
अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकामा खटाइने उपमहासचिव ज्ञवालीले बताउनु भयो । केन्द्रीय सदस्यहरूलाई पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टी कमिटीका सम्बन्ध सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उहाँले उल्लेख गर्नुभयो । अभियान फागुन ५ गतेदेखि औपचारिकरूपमा सुरु हुने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीमा वैचारिक, सङ्गठनात्मक सुदृढीकरण र विस्तारका लागि आउँदाे फागुन र चैत दुई महिना विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ । दुई महिनाभर हाम्रो पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य विभिन्न पालिकामा खट्नुहुनेछ । उहाँहरूलाई ११ वटा काम तोकिएको छ । अभियानकाे विधिवत् थालनी फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रमबाट सुरु हुनेछ । सातै प्रदेशमा एक/एक जना उपाध्यक्ष जानुहुन्छ ।’
बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ । त्यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी डा. विन्दा पाण्डेलाई दिएको छ । त्यसैगरी पार्टीको अपाङ्गता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरुङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।
सत्यपाटी संवाददाता । काठमाडौँ