सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौदी विजयी

राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसाैदी विजयी हुनुभएको छ । सत्ता साझेदार दलकाे तर्फबाट साझा उम्मेदवार दसाैदी ४ हजार २६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गर्नुभयो । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गर्नुभयाे । प्रदेश सभातर्फ तीन मत बदर भएकाे छ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपचुनाव भएकाे हाे । चुनावमा ३ सय ५ जना मतदाता रहेकामा ३ सय ४ मत खसेकाे थियाे ।

निर्वाचित दसाैदी रोल्पाकाे रुन्टीगढी गाउँपालिका ५ का बासिन्दा हुनुहुन्छ । दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ हुनुहुन्थ्याे ।

नागरिक उन्मुक्तिका राय स्थायी घर सल्यान भई अहिले बाँकेमा बसोबास गर्दै आउनुभएकाे थियाे । रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी हुनुहुन्थ्याे ।

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्दा उहाँको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोगराज चौधरी हुनुहुन्थ्याे ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १७:५६