विगतमा मंसिरको दोस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमालहरू सेताम्मे हुन्थे । तर अहिले माघ सकिन लाग्दासमेत हिमाली क्षेत्रहरूमा हिमपात भएको छैन । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखर कालो चट्टानजस्तै देखिएको छ । हिमालमा स्नो लाइन (हिम रेखा) भन्दा माथिसम्म हिउँ पग्लँदै गइरहेको कञ्चनजंघा संरक्षण क्षेत्रका कार्यक्रम सहायक सूर्यमान राईले बताए ।
‘जलवायु परिवर्तनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ,’ उनले भने । कञ्चनजंघा हिमशृङ्खला क्षेत्रमा विश्वकै दुर्लभ जनवार हिउँचितुवाको विशेष बासस्थान मानिन्छ । हिउँ पग्लँदै गएपछि हिउँचितुवासमेत संकटमा पर्न सक्ने राईले चिन्ता व्यक्त गरे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र डब्लुडब्लुएफ नेपालले सन् २०१५ मा हिउँचितुवालाई रेडियो कलर गरेको थियो ।
त्यस समयमा कञ्चनजंघा क्षेत्रमा २४ हिउँचितुवा पाइएको विभागले जनाएको छ । समयमै हिमपात नहुँदा पर्यावरणमा आउन सक्ने फेरबदलले हिमाली वन्यजन्तु अन्यत्र स्थानान्तरण हुन सक्ने सम्भावना बढेर गएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । हिमतालहरू सुक्ने, पानीको मुहानहरू सुक्दै जाने, वन जंगल सुक्खा हुने भएकाले डढेलो लाग्ने ठूलो सम्भावना रहेको उनको भनाइ छ ।
पर्यटकीय गतिविधि ठप्प
कञ्चनजंघा क्षेत्रमा बसोबास गर्न समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए । सेताम्य हिमालको अवलोकन गर्न तथा हिमालको आनन्द लिन पर्यटक हिमालमा आउने गर्दछन् ।
समयमा हिउँ नपर्दा हिमाल कालो चट्टान जस्तै बन्दै गयो भने विदेशी पर्यटकहरू आउँदैन कि भन्ने चिन्ताले पर्यटन व्यवसायी सेराप शेर्पालाई सताएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखर अवलोकन गर्न आउने पर्यटकको आगमन यतिबेला ठप्प छ । कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांक छ ।
विगतका वर्षमा कञ्चनजंघा पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटक खचाखच हुने कञ्चनजंघा पदमार्ग अहिले सुनसान भएको छ । गत भदौदेखि मंसिरसम्म जम्मा ४३९ जना बाह्य पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गर्न पुगेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार मंसिरयता भने पर्यटकको आगमन शून्य छ ।
संकटमा चौँरी
ताम्लिङ शेर्पा बिहानको घाम ताप्दै कञ्चनजंघा हिमालतिर हेरेर टोलाउने गर्छन् । उनको घर समुद्र सतहदेखि ४२०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७, याङमा गाउँमा हो । याङमा जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आएका हुन् । उनको पुर्ख्यौली पेसा पशुपालन हो ।
उच्च हिमाली क्षेत्र भएकाले याङमा गाउँमा चौँरी याकपालनका लागि अनुकूल क्षेत्र हो । यस क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत भने चौँरी याक गोठ हो । समयमै हिमपात र वर्षा नहुँदा पानी मुहान सुक्ने तथा हिउँ पग्लेपछि हिमताल सुक्न गई पानीको हाहाकार हुने हो कि भन्ने चिन्ताले सताउन थालेको स्थानीय फिन्सो शेर्पाको भनाइ छ ।
सुक्खा मौसम भएपछि घाँसपात नउम्रने भएकाले चौँरी याक चरनमा समस्या आउने चिन्ता लागेको उनी बताउँछन् । ‘हिउँ पग्लेर हिमाल सुक्खा हुन थाल्यो । हिमाल सुक्खा भयो भने पानीको मुहानहरू सुक्छ,’ उनले भने, ‘चौँरी याकहरूले पानी खान पाउँदैन । जमिन सुक्खा हुँदै गएपछि घाँस उम्रिँदैन । घाँस नभएपछि चौँरी याकहरु तिर्खा र भोकले मर्नेछन् ।’ उच्च हिमाली स्थान भएकाले अन्न हुँदैन ।
त्यसैले यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत पशुपालन हो । ‘हिमालमा हिउँ पग्लँदै गएको छ । खेतबारीहरू सुक्खा हुँदैछ,’ फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले भने, ‘बारीमा जौ, गहुँमा बाला लाग्न नपाई सुक्दै गएको छ ।’ पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खडेरीबाट अलैँची बगान जोगाउन बिहान–बेलुका पाइपबाट सिँचाइ गर्नु परेको उनले बताए । हिमपात र वर्षा नहुँदा हिउँदे बालीनाली सुक्दै गएको सिरिजंगा गाउँपालिका–५ मामाङ्खे टीका माबोले बताइन् ।
‘खडेरीबाट हिउँदे बाली र अलैँची जोगाउन मुस्किल भएको छ ।’ विगतका वर्षहरूमा मंसिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो । समयमा हिमपात र वर्षा नहुँदा वैशाख र जेठ महिनामा असिना पर्छ भन्ने चिन्ता लागेको फुक्ताङलुङ गाउँपालिका–६ मादिबुङका सन्तकुमार फेम्बूले बताए । समयमा हिमपात नहुँदा तथा कम हिमपात हुँदा असिना ज्यादा पर्छ भन्ने जनविश्वास रहेको फेम्बूले बताए । सदरमुकाम फुङ्लिङमा भने बिहानदेखि बेलुकासम्म हुस्सु लाग्ने गरेको छ ।
दिलकुमार लिम्बू । ताप्लेजुङ