सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार संसदबाट विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरिएकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन्।

सत्ता गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका रावललाई नागरिक उन्मुक्तिले भने विश्वासकाे मत नदिने भएकाे छ।

आफ्ना माग सम्बोधन नगरेपछि नागरिक उन्मुक्तिले उनलाई विश्वासकाे मत नदिने निर्णय गरेकाे पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ बताउँछिन्।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री रावलले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्। तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार ०९:०२