सूचनाको शक्ति - The Power Of Information

        

रेमिटेन्स कम्पनीमाथि छानबिन गर्दै सिआइबी

नेपालमा रेमिटेन्स कम्पनीहरू नै हुन्डीको कारोबारमा संलग्न रहेको पाइएको छ । प्रमाणसहित यस्तो सूचना पाएपछि नेपालको केन्द्रीय अनुसन्धान ब्यूरोले केही रेमिटेन्स कम्पनीमाथि छानबिन थालेको छ । अवैध कारोबारको आरोपमा सिआइबीले हाल मोडर्न रेमिटमाथि अनुसन्धान गरिरहेको छ ।

सो रेमिटका सञ्चालकमध्ये एक उदयचन्द्र यादबलाई ब्यूरोले गत महिना पक्राउ नै गर्यो । उनको ल्यापटप तथा मोबाइलबाट अनुसन्धान गर्दा १७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार गरेको भेटियो । सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर भएकोमा उनी जेल चलान भइसकेका छन् ।

उनले भौतिक रुपमा आर्थिक कारोबार गर्दैनथिए । नेपालमा अनलाइनमार्फत नै भुुक्तानी दिन्थे । उनको बैंकिङ कारोबार शंकास्पद लागेपछि ब्यूरोले पक्राउ गरी छानबिन गरेको थियो । उनले रेमिट कम्पनीकै आडमा यस्तो कारोबार चलाउँदै आएका थिए । सो आधारमा सो कम्पनीका अन्य सञ्चालक तथा कर्मचारीमाथि समेत छानबिन भइरहेको स्रोत बताउँछ ।

अनलाइनमार्फत हुन्डी कारोबार हुने नयाँ शैली पत्ता लागेको स्रोत बताउँछ । सो कम्पनीले इजरायल, अष्ट्रेलिया लगायत देशमा हुन्डी कारोबार गर्दै आएको पाइएको छ । रेमिटेन्सको कारोबार थोरै तर हुन्डीको कारोबार भने धेरै हुने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन । यो घटनाको अनुसन्धान गरेपछि अरु धेरै रेमिटेन्स कम्पनीले पनि यसैगरी हुन्डीको कारोबार गरेको सूचना प्रहरीले पाएको छ ।

‘नेपालमा अधिकांश रेमिटेन्स कम्पनीको धन्दा हुन्डीको कारोबार रहेछ,’ सिआइबीका एक प्रहरी अधिकारी भन्छन्, ‘यस्तो धन्दा निकै संगठित किसिमको रहेछ ।’ खासगरी अवैध कारोबारको रकम यसरी हुन्डीको माध्यमबाट लेनदेन हुने गरेको हो । उता, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएसँगै हुन्डी कारोबारीमाथि कारबाहीलाई तिव्रता दिएका छन् ।

कार्यालयले शुक्रबार न्यूरोडबाट ७८ लाख ५० हजारसहित किशोर चौधरी र दीपेन्द्रबहादुर मल्ललाई पक्राउ गर्यो । उनीहरुले दिनमै एक करोडको कारोबार गर्दै आएको प्रहरी दाबी छ । पक्राउ परेका दुवै जना हुन्डीको रकम व्यवस्थापन गर्ने व्यक्ति मात्र हुन् । त्यसकारण मुख्य कारोबारीसम्म प्रहरी अनुसन्धान पुग्न सक्छ कि सक्दैन भन्ने हेर्न बाँकी छ । विगतमा अपराध अनुसन्धान कार्यालयमा हुन्डी कारोबारीसँग सेटिङ थियो ।

जसकारण एक कारोबारीलाई पक्राउ गर्दा डिएसपी डिलबहादुर मल्ल नै कारबाहीमा परेर हटाइएका थिए । उच्च पदस्थ व्यक्तिको संरक्षणमा रहेका कारोबारीमाथि एक्सन लिदा उनलाई त्यहाँबाट हटाइएको थियो । नयाँ एसएसपी डा.मनोजकुमार केसीले भने अपराध अनुसन्धान कार्यालयमा वर्षाैदेखि बसेर सेटिङ मिलाउँदै आएका प्रहरीलाई हटाउने राम्रो अभियान सुरु गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १५:५२