सूचनाको शक्ति - The Power Of Information

        

एआइजी र डिआइजी बढुवाको तयारी, को–को छन् प्रतिश्पर्धामा ?

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका रिक्त रहेका उच्च पदमा बढुवाको गृहकार्य सुरु भएको छ । नेपाल प्रहरीमा एआइजी तथा सशस्त्र प्रहरीमा डिआइजीका पद महिनौंदेखि रिक्त छन् । फागुनको अन्तिममा मात्र बढुवा गर्ने भन्दै डिआइजीहरूलाई प्रदेशमा खटाइए पनि अहिले फेरि बढुवाको तयारी सुरु भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

डिआइजीबाट सिधैं आइजिपीमा बढुवा गर्दा समस्या हुनसक्ने भएकाले गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढुवाको तयारी थाल्न निर्देशन दिएको स्रोत बताउँछ । जसअनुसार फागुनको दोस्रो साता एआइजी बढुवा हुने सम्भावना छ । आइजीपी धिरजप्रताप सिंह यो हप्ता विदेशमा हुने भएकाले सरुवा–बढुवाको काम रोकिएको छ ।

यसअघि गृहमन्त्री रहेका रवि लामिछानेले तत्काल एआइजी बढुवा रोकेका थिए । उनी सरकारबाट हटिसकेपछि एआइजी बढुवाको तयारी सुरु भएको हो । जसकारण प्रदेशमा खटाइएका डिआइजीहरू शक्तिकेन्द्र धाउन नपाउँदा तनावमा परेका छन् । प्रदेशमै खटाइएका डीआइजीहरू नै एआइजी बढुवाका प्रमुख दाबेदार हुन् ।

प्रदेश नम्बर १ का श्यामलाल ज्ञवाली, मधेस प्रदेशका बसन्त कुँवर, बागमतीका दीपक थापा, लुम्बिनीका टेकप्रसाद राई, कर्णालीका भीम ढकाल, सुदूरपश्चिमका अशोक सिंह बढुवाका प्रमुख आकांक्षी मानिन्छन् भने हेडक्वार्टरमा रहेका उमेशराज जोशी, सन्दीप भण्डारी, किरण बज्राचार्य, ट्राफिककी मिरा चौधरी पनि एआइजी बढुवाका दाबेदार हुन् ।

फागुन दोस्रो साता एआइजी पूजा सिंहले अवकाश पाउने भएकाले एआइजीका पाँच दरबन्दी रिक्त हुनेछन् । जसमा २० डिआइजबीच प्रतिस्पर्धा छ । आइजिपीकै ब्याचका तीनजना भने बढुवामा पर्ने सम्भावना नरहेको स्रोत बताउँछ । अर्काेतर्फ, नयाँ प्रहरी ऐन अघि बढाउने तयारीबारे पनि छलफल अघि बढेको गृह स्रोतले बताएको छ ।

३० वर्षे सेवाहदले समस्या ल्याएपछि त्यो प्रावधान हटाउन प्रधानमन्त्री प्रचण्डले छलफल थालेको स्रोत बताउँछ । त्यस्तै, सशस्त्र प्रहरीमा पनि रोकिएको डिआइजी बढुवा अघि बढेको छ । गत १९ माघमा बढुवा समितिका सदस्यसचिव एआइजी नारायणदत्त पौडेलले बढुवाको फर्म भर्न सात दिनको म्याद दिएर सूचना निकालेका छन् ।

सशस्त्रमा डिआइजीका ४ पदमा ९ एसएसपीबीच प्रतिस्पर्धा छ । नेपाल प्रहरीबाट स्थानन्तरण भएका कृष्णराज पाठक सबैभन्दा सिनियर छन् । प्रहरीको प्राविधिक सइबाट सशस्त्रमा स्थानन्तरण भएका उनी कार्यक्षमतामा भने कमजोर मानिन्छन् । सशस्त्रमा सिं सं १ को टोली पहिलोपटक डिआइजी पदमा पुग्दैछन् ।

सो टोलीका नौ जना एसएसपी छन् । जसमध्ये एसएसपी प्रकाश थापाले स्टाफ कलेज नगरेकाले उनी बढुवाको प्रतिस्र्धाबाट स्वतः बाहिरिएका छन् । एसएसपीहरु दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनी कुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र बिनोदराज श्रेष्ठमध्येबाट बढुवा हुनेछन् ।

यही ब्याचबाट सशस्त्रमा महानिरीक्षक समेत बन्ने भएकाले बढुवामा चर्काे प्रतिस्पर्धा देखिएको छ । यसअघि सि.स २ का एसएसपी दीपेन्द्र कुँवरले समेत चलखेल गर्दा सशस्त्रका आइजिपी राजु अर्यालले बढुवा रोकेका थिए । शेरबहादुर देउवा सत्ताबाट हटेसँगै कुँवरको चलखेल पनि रोकिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १५:४६