सूचनाको शक्ति - The Power Of Information

        

यातायात कम्पनीको बेवास्ता

सडक दुर्घटनाका घाइते तीन महिनादेखि अस्पतालमा, परिवार तनावमा

‘पैसा दिन्छौं, हुन्छ–हुन्छ भनेर मिठो बोलेर फिर्ता पठाउँछन् । पैसा तिर्न बाँकी बिलको चाङ भइसक्यो । सडक दुर्घटनामा यसरी यातायात समिति (कम्पनी)ले दुःख दिने कुरा सम्बन्धित निकायले कहिले थाहा पाउला ?’

सुर्खेतको बराहताल गाउँपालिकाका २६ वर्षीय भुपेन्द्र चालिसे गत कात्तिक ७ गते वीरेन्द्रनगरबाट बड्डीचौर फर्किँदै थिए । हार्डवेयर पसलका लागि सामान अर्डर गरेर फर्किंदै गरेका भुपेन्द्रले चलाएको मोटरसाइकल बीच बाटोमै दुर्घटना भयो । जंगलको बाटोमा भुपेन्द्रको बाइकलाई पछाडिबाट आएको फोर्स गाडीले ठक्कर दिएको थियो । उनको उद्दार हुँदासम्म ठक्कर दिने गाडीका चालक फरार भइसकेका थिए ।

उद्दार गर्नेले उनलाई सुर्खेतको प्रादेशिक अस्पताल लगिदियो । त्यसपछि बल्ल उनको परिवारले दुर्घटना भएको खबर पायो । परिवार अस्पताल पुग्दा भुपेन्द्रको निधार र छातीमा सानोतिनो चोट देखिएको थियो । हातखुट्टा या शरीरका अन्य अंग केही भएको थिएन । तर टाउकोको सिटी स्क्यान गर्दा उनको दिमागमा चोट देखियो । प्रादेशिक अस्पतालले काठमाडौं लगेर उपचार गर्न सुझायो ।

कहिल्यै यस्तो दुर्घटना नभोगेको भुपेन्द्रको परिवारले काठमाडौंको कुन अस्पताल जाने भेउ पाउन सकेन । सुर्खेतमै अस्पतालमा बसिरहँदा धेरैले काठमाडौंको मेडीसिटी अस्पतालमा राम्रो उपचार हुने बताएका थिए । तर उनीहरुलाई सरकारी अस्पताल लैजान पाए सहुलियतमा उपचार हुन्थ्यो कि भन्ने आशा थियो । उता ठक्कर दिने गाडीका चालक पनि दुर्घटना भएकै दिन प्रहरीको सम्पर्कमा आइसकेका थिए ।

‘बस चाहिँ दैलेखको मान्छेको रहेछ । सुर्खेतकै देउती नागरिक यातायात समिति (प्रालि)मा आबद्द रहेछ,’ भुपेन्द्रका भिनाजु चेतन काफ्ले भन्छन् । काठमाडौं लानै पर्ने भएपछि उनीहरुले यातायात समितिलाई खबर गरे । बिरामीलाई भेन्टिलेटरमा राखेर ल्याउनुपर्ने थियो । एम्बुलेन्स या प्लेनमा त्यो कुरा असम्भव जस्तै भयो । परिवारका सदस्यले हेलिकोप्टर मगाए तर यातायात समितिले हेलिकोप्टरको पैसा नतिर्ने भन्न थाल्यो ।

‘आधा भए पनि तिरिदिनूस् भन्दा पनि समितिले मानेन । त्यो समयमा जसरी पनि बिरामीको ज्यान बचाउनु थियो । पैसाभन्दा बिरामीको ज्यान महत्वपूर्ण थियो । पैसाको हिसाब नै भएन । उनीहरुले नतिरे पनि हामी आफैंले ६ लाख ६० हजार रुपैयाँ तिरेर मेडिसिटी हस्पिटल ल्यायौं,’ काफ्ले भन्छन् । उनीहरु कात्तिक ९ गते मेडिसिटी अस्पताल आइपुगे । अस्पतालको खर्च समिति (कम्पनी)ले नभई नव कान्तिपुर भलाइ तथा इन्भेस्टमेन्ट प्रालिले तिर्ने रहेछ ।

नव कान्तिपुरले कात्तिक १३ गते मेडिसिटी अस्पताललाई आफूले उपचारको रकम भुक्तानी गर्ने भन्दै पत्र लेखेको थियो । बिरामीलाई काठमाडौं ल्याइसकेपछि उता सुर्खेतमा पनि स्थानीय केही र परिवारका व्यक्तिहरु गएर उपचार खर्च बेहोर्ने सहमतिसहित कागज बनाइएको थियो । काफ्लेले सहमति कागज बनाएपछि समिति (यातायात कम्पनी)ले गाडी र ड्राइभरलाई छाडिदिन अनुरोध गरेको पनि बताए ।

‘हामीले पुलिस रिपोर्ट पनि गरेका थियौँ । जे नहुनु भइसकेको थियो । बस नै गरिखाने बाटो हो भनेर छाडिदिने भनेका थियौं । तर बिरामीको बुवाले मान्नुभएन । त्यसपछि कम्पनीले उपचार नै गर्दिनँ भन्न थाल्यो । बाध्य भएर बस छाड्नुपर्यो,’ काफ्ले सम्झिन्छन् । काठमाडौं ल्याए पनि बिरामीको अवस्थामा सुधार आएको थिएन । मेडिसिटीको केही दिनको बसाइपछि फेरि नवकान्तिपुरले धेरै खर्च भयो भन्दै परिवारलाई गनगन गर्न थाल्यो ।

नव कान्तिपुरका प्रतिनिधिहरु बिरामी अन्तै सारौँ भन्न थाले । ‘सुरुमा हेलिकोप्टर खर्चबाहेक बिरामी निको नहुन्जेल खर्च गर्छौं भने पनि एकाएक खर्च धान्न सक्दैनौं भन्न थाले । बिरामीलाई कहाँ लैजाने, के गर्ने हामीलाई मेसो थिएन । मेडिसिटीका डाक्टरहरुले पनि प्रालिका मान्छेले हात निकाल्ने दिन आउँछ, खर्च बढी हुन्छ भनेझैँ गर्नुभयो,’ काफ्लेले भने । त्यसपछि बिरामीलाई ट्रमा सेन्टर सार्ने सल्लाह भयो । बल्लतल्ल बेड मिलाएर कात्तिक ३० गते ट्रमा सेन्टरमा सारियो ।

काफ्लेका अनुसार अहिले भुपेन्द्रको स्वास्थ्यमा थोरै सुधार आएको छ । उनी भन्छन्, ‘मेडिसिटीमा हुँदा अब बिरामीले आँखा देख्नु हुन्न होला भनेका थिए । प्यारालाइसिस जस्तै भएको छ भनेका थिए । तर अहिले आँखामा समस्या छैन, हातखुट्टा पनि चलेको थियो । आजभोलि चाहिँ एउटा खुट्टा दह्रो जस्तो भएको छ । बोलायो भने मुख चलाउने, जिब्रो चलाउने गर्छन् । पहिले जस्तो भेन्टिलेटरको पूर्ण सपोर्टमा छैनन् । भेन्टिलेटरको मोडहरु झार्दै गएको छ । जे होस् पहिलेभन्दा सुधार भएको छ ।’

नव कान्तिपुरको हेलचेक्र्याइँले बिरामीको परिवारलाई छुट्टै तनाव

मेडिसिटीमा खर्च धेरै भयो भनेर बिरामी ट्रमा सेन्टर सार्न लगाएको नव कान्तिपुर भने जिम्मेवारीबाट भागेको बिरामीको परिवार बताउँछ । मेडिसिटीमा भर्ना गरेपछि बिरामीको परिवारले नै पनि २ देखि ३ लाखको हाराहारीमा पैसा खर्च गरेको दाबी गरेको छ । यातायात कम्पनीले भने मेडिसिटीमा १७ लाख खर्च भएको काफ्लेलाई बताएको थियो । ट्रमा सारेपछि गत महिनाको ६–७ गतेतिर केही रकम दिएका कम्पनीका सदस्यहरुले अहिले फोन नै उठाउन छाडेको काफ्लेले बताए ।

‘एउटा मान्छेले मात्रै फोन उठाउँछ, म कुरा गर्छु भन्छ । हामीलाई पैसाको अभाव भएको छ । फरकफरक टेस्ट गर्न कहाँकहाँ पुग्नुपर्छ । पैसा चाहिन्छ । यहाँ फार्मेसीबाट उधारोमा औषधि ल्याइरहेका छौँ । अहिले फार्मेसीले पैसा मागिरहेको छ,’ काफ्ले थप्छन्, ‘तर पैसा सकियो भन्दैमा उपचार रोक्न मिलेन, स्वास्थ्य बीमा पनि भर्खरै गरियो । अस्पताल प्रशासनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ । अहिले उनीहरुको पैसाको भर पर्नुभन्दा पनि कसरी उपचार निरन्तर गर्ने भन्ने कुरा महत्वपूर्ण हो । उपचार रोकिएर बिरामीलाई अफ्ठ्यारो पर्ने अवस्था कसैको नआओस् ।’

अहिलेसम्म बिरामीको परिवार आफैँले १३ देखि १४ लाख रुपैयाँ खर्च गरिसकेको छ । उपचार खर्चको कुरा गर्न नव कान्तिपुरको कार्यालय बालाजुसम्मै पुगेका काफ्ले भन्छन्, ‘पैसा दिन्छौं, हुन्छ–हुन्छ भनेर मिठो बोलेर फिर्ता पठाउँछन् । तर आउनूस् कुरा गरौँभन्दा मान्दैनन् । पैसा तिर्न बाँकी बिलको चाङ भइसक्यो । सडक दुर्घटनामा यसरी यातायात समिति (कम्पनी)ले दुःख दिने कुरा सम्बन्धित निकायले कहिले थाहा पाउला ?’

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १२:३५