सूचनाको शक्ति - The Power Of Information

        

विवादास्पद विभूषणमा फेरि चलखेल

केही विवादास्पद व्यक्तिको विभूषण रद्द गराउने प्रक्रिया अघि बढेकोमा त्यसलाई रोक्न चलखेल सुरु भएको छ । यसअघि गृह मन्त्रालयले विवादास्पद व्यक्तिको विभूषण रद्द गर्ने प्रस्ताव अघि बढाएको थियो ।

रवि लामिछाने गृह मन्त्रालयबाट हटेपछि विभूषणमा चलखेल भएको हो । गृहले व्यापारीहरु पशुपति मुरारका, श्रवण गोयल तथा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी लगायतको विभूषण रद्दको प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो ।

जुन प्रस्ताव फिर्ता गराउन व्यापारीहरु दौडधुपमा लागेका छन् । व्यापारी मुरारकामाथि भ्रष्टाचार अभियोग छ । चुनढुंगा खानी दोहनमा उनीमाथिको मुद्दा बिशेष अदालतमा विचाराधिन छ । तोकेभन्दा धेरै खानी दोहन गरेको र जरिवाना नतिरेको अभियोग उनीमाथि छ ।

व्यापारी गोयलमाथि बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको मुद्दा छ । गोयलले विभूषण लिइसकेका छन् भने मुरारकालाई यो वर्ष दिने निर्णय भएको थियो । विभूषण हरेक वर्ष वैशाख १ गते दिने परम्परा छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई विूभषण दिने निर्णय भएको भन्दै आलोचना भएको थियो । विभूषण खोसिन लागेपछि मुरारका यतिबेला त्यसलाई फर्काउन लागिपरेका छन् । व्यवसायीहरु तत्कालीन मन्त्री लामिछानेलाई भेट्न जाँदा मुरारकालाई भेट्न दिएका थिएनन् ।

त्यस्तै, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र शेरबहादुर श्रेष्ठको पनि विभूषण खोसिएको छ । उनीहरु भ्रष्टाचार लगायत मुद्दामा परेपछि यसरी खोसिएको हो । कँडेललाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाणका पिए नरेन्द्र केसीले विभूषण दिलाएका थिए ।

कँडेल र केसी दुवै एउटै विद्यालयका शिक्षक हुन् । कँडेलमाथि नक्कली प्रमाणपत्रको आरोपमा गत सातामात्र भ्रष्टाचार मुद्दा दायर भएको छ । पछिल्ला वर्ष विभूषणमा सोर्सफोर्स मात्र होइन आर्थिक चलखेलसमेत हुन थालेको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार ११:४७