सूचनाको शक्ति - The Power Of Information

        

धरासायी बन्दै वित्तिय संस्था

लिलाम घरजग्गा बिक्री नभएपछि वित्तीय संस्था आफैं दलाली !

वित्तीय संस्थाको कर्जा लगानी नै जोखिममा परेपछि बचतकर्ताहरु आफ्नो पैसा निकाल्न हरसम्भव गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्था पछिल्लो समय आफैं घरजग्गा दलाली बनेका छन् । ऋणीले ऋण तिर्न नसकेपछि वित्तीय संस्था आफैंले घरजग्गा बेच्ने कार्यालय खोलेका छन् । तर, वित्तीय संस्थाको यो उद्देश्य पनि फेल खाएको छ । घरजग्गा बेच्न कार्यालय त खोलेका छन् तर ग्राहक नआँउदा वित्तीय संस्था तनावमा परेका छन् । धितो बिक्री नहुँदा बैंकहरु डुब्ने अवस्थामा पुगिसकेको छ । हिजो जग्गा बेचविखन गर्ने दलालीहरुले सर्वसाधारणलाई उच्चतम मूल्यमा जग्गा बिक्री गरेका थिए । दलालीहरले महँगोमा सर्वसाधारणलाई जग्गा भिडाए ।

बैंकले पनि घरजग्गा भन्नेबित्तिकै आँखा चिम्लेर कर्जा दियो । यता, कतिपय बैंक आफैंले जग्गा खण्डीकरण गरेर पनि बेचेका छन् । कर्जा लिएकाहरुले ऋण तिर्न सुकुम्बासी बनेका छन् । उता, बैंकलाई पनि धितो लिलाम गर्न ठूलै सास्ती भएको देखिन्छ । एकातिर घरजग्गाको मूल्य छैन । बजारमा मन्दी ह्वात्तै बढेको छ । कसैसँग पैसा छैन । दुई वर्ष अगाडि ४० लाखमा किनेको जग्गा २० बेच्छु भन्दा पनि खरिददार छैनन् । ९५ प्रतिशतले बैंक र सहकारीबाट कर्जा लिएर घरजग्गा किनेका छन् । अधिकांशको घरजग्गा वित्तीय संस्थाको नाममा छ ।

केही वर्षयता उच्च मूल्यमा पुगेको घरजग्गामा यसरी मन्दी आउनेबित्तिकै सर्वसाधारणहरु चुर्लुम्म डुबेका छन् । वित्तीय संस्था पनि टाट पल्टेका छन् । यता, बचतकर्ताहरु समेत आफ्नो बचत जोगाउन दौडधुप गरिरहेका छन् । वित्तीय संस्थाको कर्जा लगानी नै जोखिममा परेपछि बचतकर्ताहरु आफ्नो पैसा निकाल्न हरसम्भव गरिरहेका छन् । पछिल्लो समय वित्तीय संस्थामा पैसा निकाल्न जानेको भीड अत्यन्तै छ । बैंकलाई एक लाख रुपैयाँ फिर्ता गर्न गाह्रो परिरहेको छ । सहकारीको त कुरै नगरे पनि हुन्छ । अधिकांश कुलेलम ठोकिसकेका छन् ।

नभाग्ने सहकारीहरुले समेत ६ महिनादेखि बचतकर्तालाई साँवा र ब्याज दिएको छैन । आफ्नो पैसा सुरक्षित हुन्छ भनेर बचतकर्ताले वित्तीय संस्थामा लगेर आफ्नो जिन्दगीभरको मेहनत राखेका थिए । तर, अहिले त्यही वित्तीय संस्था सबैभन्दा बढी असुरक्षित साबित भएको छ । आफ्नो घरजग्गामा गरेको लगानी नउठेको र उठ्नेबित्तिकै फिर्ता गर्ने भन्दै वित्तीय संस्थाले सर्वसाधारणलाई दुःख दिने काम गरिरहेको छ । दुई करोड रुपैयाँ पर्ने घरजग्गा राखेर सर्वसाधारणले एक करोड रुपैयाँ लिए । त्यो पनि घुस, सेवाशुल्क र महँगो ब्याज गरेर ।

अहिले वित्तीय संस्थाको कर्जा तिर्न नसक्दा सो छोड्नुपर्ने बाध्यता जाइलागेको छ । एकातिर घरजग्गाको मूल्य घटेको छ अर्कोतिर वित्तीय संस्थाले निरन्तर ब्याज बढाइरहेको छ । मालपोत कार्यालयहरुमा घरजग्गा नामसारी छैन् । मालपोतहरु सामसुम छ । अहिले बजारमा घरजग्गा बेच्ने यत्तिकै छन् । तर, खरिदकर्ता कोही भेटिदैनन् । अधिकांशलाई एउटै पिर छ, मेरो घरजग्गा बैंकले लिलाम गर्ने भो । कतिले त ऋण तिर्न नसकेर हात उठाइसकेका छन् । घर धितो राखेर दिएको कर्जा उठाउन बैंकलाई नै सास्ती भएको छ ।

बैंकले लिलाम सूचना निकालेपछि कतिपय आफैंले सामान निकालेका छन् । कतिपयको वडाध्यक्ष र प्रहरी प्रशासन राखेर भटाभट सामान निकाल्ने काम बैंकले गरिरहेको छ । दुई वर्षअघि दुई करोड मूल्याकंन भएको घरहरु ८० लाखमा बेच्छु भन्दा पनि कसैले किन्नलाई चासो देखाउँदैनन् । पैसा भए त किन्ने हुन् । पहिले सर्वसाधारणहरुले त्यही जग्गा धितो राखेर वित्तीय संस्थाबाट कर्जा लिँदै घर बनाए । कतिपयले घरको तलो थपे । अहिले ऋण तिर्न नसकेपछि आफ्नो लगानी डुब्यो । बैंकले जसरी भए पनि आफ्नो लगानी उठाइहाल्छ ।

बैंकहरुले पैसा नभएर घरजग्गामा कर्जा लगानी गर्न छोडेका छन् । नयाँ लगानी गर्नलाई बैंक आफैं पनि रित्ता छन् । पछिल्लो समय धमाधम पूराना कर्जा असुल्ने कार्य भइरहेको छ । हिजो दलालीहरुले बैंकबाटै कर्जा लिएर जग्गा प्लानिङ गरे । दुई लाख आनामा पनि बिक्री नहुने जग्गा खण्डीकरण गरेर आनाकै ४० लाखमा बेचे । बैंकको पैसाबाट जग्गा दलालीहरुले पनि कमाए । तर, जग्गाको मूल्यमा स्वाटै ओरालो लागेपछि दलालीहरुमा भागदौड मच्चिएको छ । बैंकको ऋण तिर्न नसकेर उनीहरु पनि भागिसकेका छन् ।

जग्गा दलाली, बैंकका सञ्चालकको मिलोमतोमा धेरै ठगिएका छन् । शुरुमा जग्गा धनीसंग दुई लाख आनामा जग्गा किने । त्यसलाई खण्डीकरण गरेर टुक्राटुक्रा पारेर आनाकै ४० लाखमा बेचे । जग्गाको मूल्य आकाँसिदा त दलाली र बैंकले पनि कमाए । २० लाख हुनेलाई ऋण दिएर बैंकले उक्त जग्गा बेच्यो । अहिले उसले ऋण तिर्न नसकेर हाल बेहाल छ । बैंकले सो जग्गा लिलाम गर्न खोजेपछि उनीहरु त सडकछाप भए । यता, शुरुमा जग्गा बेच्ने पनि डुबे, उता प्लानिङ गरेको जग्गामा लगानी गर्ने पनि डुबे ।

वित्तीय संस्थाका सञ्चालकले नसोचेरै जनताको पैसा घरजग्गामा लगानी गरे । जग्गाको मूल्यमा कहिल्यै गिरावट आउँदैन झनझन् बढ्दै जान्छ भन्ने सोचे । तर, अहिले त कायापलट भइसकेको छ । घरजग्गा खरिदबिक्रीमा ठूलो गिरावट आएको छ । अब घरजग्गाको मूल्य बढ्ने अवस्था देखिँदैन । यो तत्काल सम्भव छैन् । बैंक र सहकारीमा पैसा छैन । कसले लगानी गर्ने ? मुलुकको अर्थतन्त्र टाँट पल्टिसकेको छ । सरकार सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुगिसकेको छ । विदेशीसँग हात थापेर सरकारी कर्मचारीलाई तलब दिनुपर्ने बाध्यता छ ।

सर्वसाधारणलाई बिहान बेलुकाको छाक टार्न पनि महाभारत छ । अनि घरजग्गा कसले किन्ने ? भएको पैसा पनि सबै लुकाइसकेका छन् । सरकारले घरजग्गामा कर्जा दिन अंकुशे लगाउन सकेन । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागले पहिल्यै कडाइ गरेको भए यस्तो अवस्था आँउदैन्थ्यो । सरकारले नियमन नगर्दा वित्तीय संस्थाले आँखा चिम्लेर लगानी गर्यो । बैंक र सहकारीको उद्देश्य नाफा कमाउनु हो । छिटो नाफा कमाउने देखेपछि बैंक र सहकारीबाट यतै लगानी गर्ने काम भयो ।

शेरबहादुर देउवाको सरकार हटेर पुष्पकमल दाहाल आउनेबित्तिकै सर्वसाधारणमा अलिकति पनि आशा जागेको थियो । घरजग्गाको मूल्य बढ्छ भनेर धेरैले सोचेका थिए । सेयर र निजी गाडीको मूल्य बढ्छ भनेर अपेक्षा गरेका थिए । जुन कल्पनामै सिमित भयो । प्रचण्डको सरकार बनेपछि केही दिन सेयरको मूल्य बढ्यो । तर, अहिले फेरि तल झरेको छ । बैंकफाइनेन्सबाट सेयर, गाडी र घरजग्गा धितो राखेर कर्जा लिएकाको न किस्ता तिर्ने समयावधि बढ्यो । न पूरानो ऋणलाई नयाँ नवीकरण गरिदिए न ब्याज घट्यो ।

अहिले बैंकहरुले भटाभटी घरजग्गा लिलाम गरिरहेको छ । गाडी भकाभक तान्ने काम भइरहेको छ । सेयर पनि धमाधम लिलाम गरिँदैछ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दुई दिने नौटंकी देखाए । न बैंकले धितो लिलाम गर्न छोड्यो न ब्याजदर घटायो । कर्जा नवीकरण गर्ने काम पनि बैंकद्धारा भएन । उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छा नेकपा एमालेका कार्यकर्ता हुन् । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि एमाले कै हुन् ।

त्यसैले शेखर गोल्छा व्यवसायीको पक्षमा नबोलेको स्पष्ट हुन्छ । उद्योग व्यवसायीहरु बैंकको ऋण तिर्न नसकेर धमाधम आत्महत्या गरिरहेका छन् । बैंक तथा फाइनान्सले बनाएका पीडितको पक्षमा गोल्छा नउभिनुको कारण पनि यही नै हो । नेपालको अर्थतन्त्र श्रीलंकाकै बाटोमा हिँडिसकेको छ । सरकारले अहिलेसम्म जसोतसो ढाकछोप गरिरहेको छ । विदेशीसँग लिएको ऋणको किस्ता तिर्न सरकार असमर्थ छ । ऋण नतिर्ने बित्तिकै नेपाल कालोसूचीमा पर्छ । भारत सरकारले नेपाललाई दिँदै आएको अनुदान कम गर्दै लगेको छ ।

अन्य मुलुकले पनि नेपाललाई ऋण दिन छोडेका छन् । अनुदानमा पनि कटौती गर्दै आएका छन् । बैंकहरुले १६ प्रतिशत ब्याज दिन्छु भन्दा पनि सर्वसाधारणले बैंकमा पैसा राख्दैनन् । सहकारीले ३६ प्रतिशत ब्याज दिनु भनेपनि सर्वसाधारणलाई केही फरक परेको छैन् । बरु भकाभक पैसा निकाल्ने काम भइरहेको छ । सहकारी प्रत्येक दिन भागिरहेको छ, जनताको पैसा डुबिरहेको छ । वित्तीय संस्थालाई सर्वसाधारणले विश्वास गर्दैनन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार ११:१३