बाँकेको नरैनापुर गाउँपालिका आउनका लागि नरैनापुर–२ रोसनपूर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्यता छ । नरैनापुर गाउँपालिकाले ३ करोड लागतका रोसनपूर्वाको रोड निर्माण सुरु गरेपछि स्थानीयहरु हर्षित भएका छन् ।
गाउँपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपूर्वा गाँउका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताए ।
रोसनपूर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँले भनाई थियो ।
खाँले भने, ‘हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएनन्, नियमित रुपमा लगाइने खोपसहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट समेत बञ्चित थियौं । तर अब सडक बनेपछि सबै क्षेत्रमा सहजता आउनेछ ।’
वर्षौपछि गाउँपालिकाले सडक निर्माण सुरु गरेपछि स्थानीयहरु उत्साहित भएका छन् । ६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताए ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले रोसनपूर्वालाई गाउँपालिकाको केन्द्रसँग जोड्ने नेपाली सडक वर्षौपछि निर्माण सुरु गरिएको बताउँदै अब रोसनपूर्वाका नागरिकलाई भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरे ।
उनले रोसनपूर्वाबासीलाई गाउँपालिकाको केन्द्रसम्म पुग्न सहज हुने पनि बताए । योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलोमिटरको बाटो निर्माण सुरु भएको बताउँदै पाँच महिनाभित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिए ।
सत्यपाटी संवाददाता । बाँके