सूचनाको शक्ति - The Power Of Information

        

नेपालीको तलब १० प्रतिशत बढ्दा महँगी ७ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले आज ६ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । ६ महिनाको तथ्याङ्क अनुसार नेपालमा महँगीभन्दा तलब तथा ज्यालाको वृद्धिदर धेरै देखिएको छ ।

२०७९ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ७.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो ।

२०७९ पुस महिनामा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क भने १०.२७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.७७ प्रतिशतले बढेको थियो ।

कुन क्षेत्रको महँगी कस्तो छ ?

चालू आर्थिक वर्षको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १६.४३ प्रतिशत, स्वास्थ्यका २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १७:०७