सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् ।

यद्यपि, राष्ट्रिय सभाले औपचारिक घोषणा गर्न बाँकी छ । आइतबार तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरेसँगै निर्विरोध भएकी हुन् ।

माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेकी अर्याललाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव गरेका थिए, एमाले प्रमुख सचेतक देवेन्द्र दाहाल र एकीकृत समाजवादीका खिमलाल देवकोटाले समर्थन गरेका थिए ।

अर्याललाई सोमबार बस्ने राष्ट्रिय सभाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ । राष्ट्रिय सभामा तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि भन्डै एक वर्षदेखि यो पद रिक्त थियो ।

पर्साको वीरगन्ज महानगरपालिका– २३ निवासी अर्यालले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । ०२६ मा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनले ०३५ मा कम्युनिस्ट पार्टीको संगठित सदस्यता पाएकी थिइन् ।

०४६ मा एमालेमा प्रवेश गरेर उनी ०५० मा पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् । ०४८, ०५१ र ०५६ मा पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी थिइन् । ०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

०५९ माघको सातौँ महाधिवेशनबाट एमालेको वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित अर्याल ०६३ मा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी थिइन् । ०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यमा निर्वाचित अर्याल ०६७ मा स्थानीय विकासमन्त्री बनेकी थिइन् ।

विभिन्न समयमा एमाले पार्टी स्कुल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरेकी अर्याल ४ जेठ ०७० मा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेकी थिइन् ।

हाल उनी माओवादी स्थायी कमिटी सदस्य छिन् । १२ माघ ०७८ राष्ट्रिय सभा सदस्यमा निर्वाचित अर्यालले एक वर्षपछि उपाध्यक्ष बन्ने अवसर पाएकी हुन् ।

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार ०८:४५