परिचय
रुबेलालाई जर्मन मिजल्स पनि भनिन्छ । भाइरस शरीरमा गएको छोटो समयमै शरीरमा देखिने रोग हो जसमा दादुराभन्दा ज्वरो कम हुन्छ र छालामा रातो बिबिराहरु आउँछन् । बिरामीमा एक पटक यसको संक्रमण भएमा प्राय फेरी यो रोग लाग्दैन । हाल नेपालमा यो रोग नियन्त्रणको अवस्थामा छ । नेपालमा २०१९ मा रुबेलाको रोगदर १.०४ प्रति १० लाख जनामा देखियो ।
२०७६ जेठ २० तदनुसार २०१९ जुन ३ देखि यो रोग नियन्त्रणमा आएको मानिएको छ । २०२२ को नोभेम्बर महिनायता दादुरा रुबेलाको बिरामी देखा परेको बाँके जिल्लामा १ जना र बर्दिया जिल्लामा २ जना गरि ३ जना शंकास्पद बालबालिकाहरुमा रगत जाँच गर्दा रुबेला देखा परेकोले यसबाट रोग लाग्न सक्ने जोखिममा रहेका बालबालिका र गर्भवती महिलाहरु र गर्भवती हुने योजना बनाएका महिलाहरुले सर्तकता अपनाउनु आवश्यक देखिन्छ ।
कारक जीब : रुबेला भाइरस (बिषाणु)
रोग सर्न सक्ने अवधि : १२ देखि २३ दिनसम्म हुन्छ । औसतमा १८ दिनसम्म (२ देखि ३ हप्ता) हुनसक्छ । यो रोग बालबालिका र वयस्कमा पनि देखिन्छ ।
बिरामीले अरुलाई रोग सार्ने समय : बिरामीमा रोगको लक्षण देखिनुभन्दा १ हप्ता अगाडिदेखि शरिरमा बिबिरा देखिएको १ हप्ता पछिसम्म अरुलाई रोग सार्दछ ।
सर्ने माध्यम
- खोक्दा वा हाच्छ्यूँ गर्दाको छिटाबाट (श्वासप्रश्वास)को माध्यमबाट अर्को निरोगी ब्यक्तिमा रोग सर्दछ ।
- यदि गर्भबति अवस्थामा आमालाई रुबेला भाइरसको संक्रमण भएमा सालको माध्यमबाट भाइरस गर्भको बच्चामा पुगेर जन्मने बच्चामा रुबेलाको कारणबाट जन्मजात बिकृतिहरु देखा पर्दछन् जसलाई हामि सिआरएस भन्दछौं यो जन्मने बच्चाहरुको लागी खतरा जनक अवस्था हो ।
चिन्ह र लक्षणहरू
- हल्का ज्वरो आउँछ । आँखा रातो हुने वा आँसु बग्ने हुन्छ । (दादुरामा जति धेरै ज्वरो नआउने र विमिरा दादुरामा भन्दा अलि ठुलो हुने ।)
- दादुराको बिबिरा कानको पछाडि बाट आउन सुरु भई मुख हुँदै शरीरको तल्लो भागतिर फैलिदै जान्छ भने यसको बिबिराहरु मुखबाट देखिन सुरु भई शरीरको तल्लो भागतिर फैलिदै जान्छ ।
कन्जेनाइटल रुबेला सिन्ड्रोम
- गर्भ रहेको ६ हप्तादेखि १२ हप्ताको समयभित्र आमामा रुबेलाको संक्रमण भएमा जन्मने बच्चामा बहिरो हुने, मोतिबिन्दु, जलबिन्दु, मानसिक समस्या, मुटु सम्वन्धी समस्या लगायत गर्भपतन हुने वा मृत्यु हुने सम्भावना बढी हुन्छ ।
- गर्भ रहेको ४ महिना पछिको समयमा आमामा रुबेलाको संक्रमण भएमा प्राय गरेर १० प्रतिशत बच्चाहरुमा बहिरो हुने लगायत जन्मजात बिकृति हुने सम्भावना हुन्छ ।
- महिला गर्भवति भएको पहिलो ४ महिनाभित्र रुवेलाबाट संक्रमण भएमा हुने अवस्था कन्जेनाइटल रुबेला सिन्ड्रोमप्रति १००० जना जिवित जन्ममा ०.१ देखि ०.२ मा देखिन सक्छ, जुन माहामारीको बेला ४ प्रति १००० जना जिवित जन्मसम्म पुग्छ ।
गर्भावस्थामा संक्रमण भए सि.आर.एस.मा हुने जन्मजात विकृतिहरु
- गर्भपतन हुने वा मृत शिशु जन्मिने ।
- कानमा हुने विकृति (बहिरोपना) ।
- आँखामा हुने विकृति (अन्धोपना) : मोतियाबिन्दु, ग्लुकोमा, पिग्मेन्टरी रेटिनोपैथी र माइक्रोफ्थाल्मिया आदि ।
- मुटुमा हुने विकृति : पेटेन्ट डक्टस आर्टेरियोसस, वेंट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनिक स्टेनोसिस, पल्मोनरी आर्टरी स्टेनोसिस र महाधमनीका कोआर्टेशन ।
- मस्तिष्कमा हुने विकृति : पूर्णरुपले वृद्धि नभई सानो हुने, मानसिक मन्दता हुने कलेजो र फियोमा असर आदि ।
रुबेला रोग लागेमा हुने जटिलताहरू
- हाड जोर्नीहरू सुन्निने वा दुख्ने ।
- रक्तश्राव हुने ।
- मस्तिष्कमा कडा खालको सुजन हुने ।
- जटिलताको कारण मुत्यु पनि हुन सक्ने ।
बालबालिकाहरुमा दादुरा रुबेला रोग देखा परेमा गरिने उपचार तथा रोकथाम
- रुबेला भाइरसको कारणबाट हुने रोग भएकोले यसको बिशेष उपचार छैन । यो अवस्थामा विरामीमा देखा परेको चिन्ह लक्षणका आधारमा उपचार गरिन्छ । ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्ता लागेको पहिलो र दोस्रो दिन गरि २ मात्रा भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । एक जना बिरामीले १२ देखि १८ जना बालबालिकालाई सार्न सक्दछ । त्यसैकारण बिरामीलाई अनिवार्य रुपमा अन्य बालबालिका संगको सम्पर्कमा आउन नदिन आइसोलेसनमा राख्नुपर्दछ । बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, ब्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्दछ ।
- बिरामीको सम्पर्कमा गर्भवती तथा गर्भराख्ने योजना बनाएका महिलाहरु संम्पर्कमा आउन दिनुहुँदैन, गर्भरहेको अवस्थामा बिरामीको संपर्कमा आई आमालाई रुवेला भाईरस सरेमा आमाबाट जन्मने बच्चामा कन्जेनाइटल रुबेला सिन्ड्रोम (सि.आ.एस.) हुने सम्भावना हुन्छ ।
- बच्चाहरुलाई समयमानै दादुरा–रुबेला मिश्रित खोप २ मात्रा (९ महिना र १५ महिनामा) लगाएमा यो रोगबाट बचाउन सकिन्छ ।
- हाम्रो देशमा दादुरा रुबेलाबिरुद्धको मिश्रित खोप प्रयोगमा छ प्रत्येक ४ बर्षको फरकमा ५ बर्षमुनिका बालबालकाहरुमा दादुरा–रुबेलाबिरुद्धको खोप अभियानमार्फत यो खोप दिइन्छ ।
- हाल दादुरा रुबेला देखा परेको बाँके जिल्लामा दादुरा–रुबेलाबिरुद्धको मिश्रित खोप ६ महिनादेखि १४ बर्षसम्मका सबै बालबालिकाहरुमा यो खोप प्रदान गरिँदै आएको छ ।
- केहि देशहरुमा यो खोप बच्चा जन्माउने उमेर समुह १५ बर्षदेखि ४९ बर्ष उमेर समुहका सबै महिलाहरुमा रुबेलाबिरुद्धको खोप प्रदान गर्ने गरेको पाइन्छ । गर्भवती अवस्थामा यो खोप लगाइँदैन र रुबेला खोप लगाएको ३ महिनापछि मात्र गर्भ राख्ने योजना बनाउनुपर्दछ ।
- केहि देशहरुमा यो खोप १ देखि १४ बर्ष उमेर समुहमा नियमित खोप जस्तै गरि यो खोप प्रदान गर्ने गरेको पाइन्छ ।
नेपालमा दादुरा–रुबेला खोप सेवा कसरी प्रदान गर्दै आइरहेको छ ?
बालबालिकाहरुमा लाग्ने दादुरा रोग र गर्भबति अवस्थामा आमालाई संक्रमण गरि आमाबाट जन्मने बालबालिकामा जन्मजात बिकृतिहरु बाट बचाउनका लागी २ प्रकारको एन्टिजिन भएको यो खोपको प्रयोग गरिन्छ । नेपालमा सन १९८८ (बि.सं. २०४५–२०४६ बाट दादुरा खोप दिन सुरु गरिएको हो । सन २०१३ बाट दादुरा संग संगै रुबेला समेत मिसाई २ रोगबिरुद्ध एउटै खोप दिन थालियो ।
सन् २०१५ अघि बच्चाको उमेर ९ महिना पुग्दा १ मात्रा मात्र दिइने दादुरा रुबेला खोप १ मात्राको प्रभाबकारिता वा सुरक्षा दर ८५ प्रतिशत मात्र भएका कारण सन २०१५ देखि बच्चाको उमेर ९ महिना र १५ महिनामा १–१ मात्रा गरि २ मात्रा दादुराको खोप दिन थालियो । हामीले प्रयोग गर्ने दादुरा रुबेला खोप विश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाइड प्रमाणित भएको हुनाले यो खोप सुरक्षित र रोग रोकथामका लागी प्रभाबकारी छ ।
खोपको किसिम – जिवित तर कमजोर पारिएको भाइरसबाट तयार भएको पाउडरको रुपमा उपलब्ध हुन्छ ।
दिनुपर्ने मात्रा – नियमित खोप सेवामार्फत २ पटक, ०.५ मि.लि. ।
खोप लगाउन नहुने अवस्था – अघिल्लो पटक खोप लगाउदा गम्भिर असर देखा परेको भएमा, एड्सको लक्षण भएमा ।
प्रतिकूल असर – ज्वरो, ५ देखि १२ दिनपछि बिमिरा देखिनु, मस्तिष्क ज्वरो वा स्नायु प्रणालीसँग सम्बन्धित गम्भीर असरहरु, एलर्जीबाट हुने कडा प्रतिक्रिया (जुन ज्यादै न्यून हुन्छ) आदि । यो खोप लगाएका करिव १० लाख बालबालिका मध्ये १ जनामा एनाफिलेक्सिस हुन सक्छ ।
सुई लगाउने स्थान र तरिका – बायाँ पाखुराको माथिल्लो छाला र मासुको बीच छालामूनि भागमा ४५ डिग्री कोणमा लगाउने ।
भण्डारण – २ डिग्रीदेखि ८ डिग्री सेल्सियसको बीचमा, यो तातोले बिग्रने खोप हो र सुर्यको प्रकाशले पनि यो खोपलाई काम नगर्ने बनाउँछ यो सामान्यतया यो खोप २ डिग्रीदेखि ८ डिग्री सेल्सियसको बीचमा राखिन्छ, यो खोप ३७ डिग्री सेन्टीग्रेडमा रह्यो भने १४ दिन, २५ डिग्री सेन्टीग्रेडमा रह्यो भने ९० दिन ५ डिग्री सेन्टीग्रेडमा रहयो भने ३ बर्ष बढिसम्म काम गर्न सक्छ त्यसैले यो खोपलाई केन्द्रिय खोप भण्डारबाट खोप लगाउने खोप केन्द्रसम्म पुरयाउँदासम्म २ डिग्रीदेखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्दछ र सुर्यको प्रत्यक्ष प्रकाशदेखि जोगाउनु पर्दछ ।
खोप प्रयोगको समय अबधि – घोलेको ६ घण्टा पश्चात् दादुरा–रुबेला खोप कदापि प्रयोग गर्नुहुँदैन । यो खोप खोलेको ६ घण्टापछि वा खोप सेसन सकिएपछि (यी दुई मध्ये जुन अवस्था पहिले आउँछ) यो खोप प्रयोग गर्नुहुँदैन ।
कुनै कारणबश तालिकाअनुसार दादुरा रुबेला खोप लिन छुट भएमा ?
१) यदि बच्चा ९ महिना उमेरभन्दा पछि आएका छन् भने पहिलो भेटमा नै यो खोपको पहिलो मात्रा दिने दोश्रो मात्रा १५ महिनामा दिने ।
२) यदि बच्चा १५ महिनाभन्दा माथिको उमेरमा यो खोप लाउन आएका छन् तर पहिलो मात्रा लगाएका छैनन् भने ? पहिलो भेटमा नै यो खोपको पहिलो मात्रा दिने, दोश्रो मात्रा पहिलो मात्राको खोप लाएको ४ हप्तापछि दिने ।
३) नियमित खोपमा खोप छुट भएका २३ महिना सम्मको बालबालिकाहरु शुन्यखोप (कुनै पनि खोप नलाएको) भेटिएमा ?
- १५ महिना मुनिको बालबालिका भेटिएमा पहिलो १ मात्रा पहिलो भेटमा दिने र बाकि दोस्रो मात्रा तालिका अनुसार १५ महिनामा दिने
- १५ महिना माथिको बालबालिका भेटिएमा १–१ महिनाको फरकमा २ मात्रा दिने ।
४) यदि २४ महिनादेखि ५९ महिनासम्मको बालबालिकाहरु शुन्य खोप (कुनै खोप नलगाएको) भेटिएमा ?
- दादुरा-रुबेला – १ महिनाको फरकमा २ मात्रा दिने ।
दादुरा–रुबेला खोपको प्रभाबकारीता
दादुरा–रुबेलाबिरुद्धको खोप लगाइसकेपछि यो खोपले शरिरमा दादुरा–रुबेलाबिरुद्धको एन्टिबडि उत्पादन गर्न १४ दिनदेखि १ महिना लाग्दछ वा यो खोप लगाएको १ महिनापछि मात्र खोपले दादुरा हुनबाट बचाउँछ । बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा १–१ मात्रा गरि २ मात्रा दादुरा विरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एकमात्र प्रभावकारी उपाय हो । नियमित खोप लगाउदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरुमा समेत ५ बर्षको उमेरभित्र जुनसुकै समयमा आएमा पनि १ महिनाको फरकमा २ मात्रा खोप दिई पूर्ण खोप सेवा प्रदान गरिन्छ ।
दादुराको खोप १ मात्राको प्रभाबकारिता ८५ प्रतिशत र दोस्रो मात्रा समेत दिएमा रोगको रोकथाम गर्ने प्रभावकारीता दर ९५–९७ प्रतिशत हुने विभिन्न अनुसन्धानहरुले प्रमाणित गरेका छन् । दादुरा, रुवेला र जन्मजात रुवेला सिन्ड्रोमबाट सुरक्षित हुन दादुरा रुवेला खोप दिइन्छ । यो जिवित कमजोर भाइरसबाट बनाइएको हुन्छ । यो खोप ०.५ एमएल छाला र मासुको बीचमा छालामुनि दिइन्छ । कोभिड–१९ बिरुद्धको खोप लिएको १४ दिनभित्र र कोभिड–१९ खोप लिएको १४ दिनपछि सम्म दादुरा–रुबेलाबिरुद्धको खोप दिइँदैन । नियमित खोपमा २३ महिना मुनिका बालबालिकाहरुमा दादुरा–रुवेला खोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी २ पटक दिनुपर्छ ।
दादुरा–रुबेलाबिरुद्धको खोप दिन नहुने अवस्था
पहिले दादुरा–रुबेलाबिरुद्धको खोप लिएको बेला खोपको कारणले कडा प्रकारको प्रतिक्रिया भएको, अहिले दादुरा भएको बालबालिकामा, अन्य कुनै शिकिस्त बिरामी परेको अवस्थामा र एडसका बिरामीमा यो खोप दिइँदैन तथा एचआइभी मात्र भएको अवस्थामा यो खोप दिन सकिन्छ । (लेखक नरेशबावु श्रेष्ठ स्वास्थ्य कार्यालय बाँकेमा खोप कार्यक्रम फोकल पर्सनका रुपमा कार्यरत छन् ।)
नरेशबावु श्रेष्ठ । जनस्वास्थ्यकर्मी