सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले यसका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म ल्होत्से हलमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ ।

आज दिउँसो ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र त्यसपछि दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमवार दिउँसो १२ बजे उपाध्यक्ष चयनको मिति तय गर्नुभएको थियो ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ । उपाध्यक्ष  पदमा  सत्ता  गठबन्धनबाट माओवादी केन्द्रका उर्मिला अर्यालले उम्मेदवारी दिने तयारी छ । राष्ट्रिय सभामा उहाँ मधेस प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो ।

सत्तारूढ  दलहरू  नेकपा  (एमाले)का  १६,  नेकपा  (माओवादी  केन्द्र)का  १५  गरी  ३१  जना  राष्ट्रिय सभा सदस्य छन् । ५९ सदस्यीय राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने/नदिनेबारे निर्णय गरिसकेका छैनन् ।

हिजो यसबारे छलफल भएको र आज बिहान थप छलफलको तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ । सत्ताबाहिरका नेपाली कांग्रेसका  १०,  नेकपा  (एकीकृत  समाजवादी)का  आठ,  जनता  समाजवादी  पार्टी  नेपालका  तीन,  लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् ।

रिक्त एक पदका लागि माघ २५ गते उपचुनाव हुँदैछ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतवार ०७:४९