सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाका मन्त्रीसहित नेताहरूसँग पूर्वराजाको भेट

पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका उच्च तहका सबै नेतासँग भेट गरी हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन दबाब दिनुभएको छ ।

झापा बसाइका क्रममा चितवन, जनकपुर र सिमरा आउँदै जाँदै गर्नुभएका ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटमा हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसद्मा कडा रूपमा उठाउन आग्रह गर्नुभएको छ ।

उच्चस्रोतका अनुसार लिङ्देनले झापा र जनकपुरमा पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्नुभएको थियो । पछिल्लो समय संसद्मा राप्रपाका नेता धवलशम्शेर जबराले प्रजातन्त्रसहितको राजतन्त्रको वकालत गरिरहनुभएको छ । १४ सिट जितेका राप्रपाको मन्त्री र नेताहरूले पूर्वराजाकै इसारामा हिन्दु धर्मसहितको राजतन्त्रको विषय उठाइरहेको बताइन्छ ।

सरकारमा उपप्रधान र ऊर्जामन्त्रीसहित ३ मन्त्री र १ राज्य राज्यमन्त्रीको भाग पाएको राप्रपाले हरेक विषय उठान गर्दा राजतन्त्रको पक्षमा वकालत गरेको देखिन्छ । झापामा बसेर राजनीति गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले भेट गरेका अधिकांश नेताले हिन्दुराज्य र राजतन्त्रको विषय उठाउने गरेका छन् ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २२ माघ २०७९, आइतवार ०७:३१