सूचनाको शक्ति - The Power Of Information

        

चन्द्रमाले भरिए बृहस्पति र शनि, बृहस्पतिमा मात्रै ९२ चन्द्रमा !

खगोलविद्हरूले बृहस्पति ग्रहमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । योसँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । बृहस्पतिमा कुल ९२ चन्द्रमा पत्ता लागेको छ ।

खगोलशास्त्रीहरूले यसअघि शनि ग्रहमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ ।

पत्ता लागेका नयाँ चन्द्रमा आकारमा ०.६ माइलदेखि दुई माइलसम्मका छन् । आउँदो अप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा)ले पनि आउँदो वर्ष अर्को यान प्रक्षेपण गर्नेछ । खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी छ । पत्ता लागेका नयाँ चन्द्रमा मध्ये आधा धेरै साना छन् । रासस

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार १४:०२