सूचनाको शक्ति - The Power Of Information

        

नेकपा एसको नजरमा कुन पार्टी कस्तो ?

‘एमाले दक्षिणपन्थी, रास्वपा प्रतिक्रियावादी, राप्रपा लम्पट’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कुन दलको चरित्र कस्तो छ भन्ने विश्लेषण गरिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले संसदमा प्रतिनिधित्व गर्ने दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिक्रियावादीको सेवक भएको विश्लेषण गरेको छ । शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमाले दक्षिणपन्थी, रास्वपा प्रतिक्रियावादीको सेवक र राप्रपा लम्पटहरुको पार्टी भएको विश्लेषण गरिएको छ ।

त्यस्तै नेता नेपालले राप्रपालाई लम्पटहरुको दल भन्दै नेपाली कांग्रेसलाई संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध रहेको दलको रुपमा व्याख्या गरेका छन् । यता नेकपा माओवादीलाई संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुँदाहुँदै पनि सत्ताको लागि धुलमुल चरित्र देखाएको टिप्पणी गरेको छ । ओली–प्रचण्ड मिलेर सरकार बनाए पनि प्रचण्डले ओलीलाई कहिलेसम्म झेल्ने हो ? भनेर कुनै ठेगान नभएको नेता नेपालको भनाई छ ।

कुन दलको चरित्र कस्तो ?

नेपाली कांग्रेस – अहिले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दलका रूपमा रहेको नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो । नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । तथापि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ ।

नेकपा एमाले – प्रतिनिधिसभाको दोस्रो ठुलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।

नेकपा माओवादी केन्द्र – प्रतिनिधिसभाको तेस्रो ठुलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी हो । यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्ता स्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी – प्रतिनिधिसभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरे पनि गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी – प्रतिनिधिसभाको पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी हो । यो पार्टी समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सङ्घीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनर्स्थापना गर्न चाहन्छ ।

जनता समाजवादी पार्टी – प्रतिनिधिसभाको छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी प्रजातान्त्रिक साजवादी सिद्धान्त आँगालेको पार्टी हो । मुख्यतः मधेस प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ ।

जनमत पार्टी – प्रतिनिधिसभाको आठौँ स्थानमा रहेको जनमत पार्टी विगतमा मधेसलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनुपर्दछ भन्ने पृथकतावादी सोच अँगालेको पार्टी हो तर अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ । यो पार्टी गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी – लोसपा प्रतिनिधिसभाको नवौँ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको पार्टी मुख्य गरी मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो। यो गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध रहेको छ ।

नागरिक उन्मुक्ति पार्टी – प्रतिनिधिसभाको दसौँ स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो । यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर सङ्गठित एवं क्रियाशील छ । यसको वर्ग चरित्र स्पष्ट छैन ।

नेपाल मजदुर किसान पार्टी – प्रतिनिधिसभाको एघारौँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवं अत्यन्त सङ्कीर्ण चरित्रको कम्युनिस्ट पार्टी हो ।

राष्ट्रिय जनमोर्चा – प्रतिनिधिसभाको स्थानमा रहेको स्थानमा रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल)को खुला राजनीतिक संगठन हो । यो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर संघीयताविरोधी पार्टी हो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार १३:४१