सूचनाको शक्ति - The Power Of Information

        

धर्मका नाममा अपराध

बली दिन दिल्ली पुर्‍याइएकी बालिका बलि हुनबाट कसरी जोगिइन् ?

तान्त्रिक बाबाले खोजेका थिए, ‘साठी केजी तौल, पाँच फिट चार इञ्च उचाइ, शरीरमा दाग र रजस्वला नभएकी बालिका ।’

बली दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । ती बालिकालाई भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।

‘बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भएरनभएको परीक्षण गरिएको रहेछ,’ ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो ।

साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठको भनाइ छ ।

उनले थपे, ‘प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।’ निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए । उनले भने, ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौँ । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।’

पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याइएको थियो । पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याएको प्रहरीको भनाइ छ । भारत पुर्याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो ।

आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन् । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धानअघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ । पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन हुनबाट बालिका, महिला, बालक र पुरुष गरी ४४३ जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १५:५२