सूचनाको शक्ति - The Power Of Information

        

रास्वपाले दियो २ दिनको समय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएकाे छ ।

बसुन्धरामा रहेको पार्टी कार्यालयमा बिहीवार बेलुकी बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिने निर्णय गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

प्रवक्ता ढकालले राजनीतिक सहयोग र सहकार्यको इमानदारितालाई पूरा गर्न प्रधानमन्त्रीले दुई दिनको समय मागेको बताउनुभयो । उहाँले राजनीतिक इमानदारितालाई ध्यानमा राखेर पार्टीसँग सहमति भएअनुसारको सहमति कार्यान्वयन भए गठबन्धनमा रहिरहने नत्र दुई दिनपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिने बताउनुभयो ।

बैठकमा धेरैजसाे नेताहरूले हतारमा निर्णय गरेर पछुताउन नहुने सुझाव दिएका उहाँकाे भनाइ छ । सर्वोच्च अदालतले माघ १३ गते उपप्रधान एवम् गृह मन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद र पार्टी सभापति पद गुमेको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने पुस ११ गते उप प्रधान एवम् गृह मन्त्री बन्नुभएको थियो । यही माघ १५ गते काठमाण्डाै जिल्ला प्रशासन कार्यालयबाट कानुन बमोजिम सभापति लामिछानेले पुनः नागरिकता लिइ सक्नुभएको छ ।

रास्वपाबाट अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की हुनुहुन्छ ।

माओवादी केन्द्रको बिहीवार बसेको स्थायी कमिटीको बैठकले भने रास्वपाका सभापति लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म उसले धैर्य गर्नुपर्ने जनाएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ०८:२७