नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेसँगै अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले थारूहरूलाई मात्र किन अपराधी देख्छ ? भनेर आक्रोश व्यक्त गरेकी छन् ।
फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बाँकेमा बिहीबार पक्राउ परिसकेका छन् । आफ्ना सांसद पक्राउ परेसँगै अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधी थारूहरूलाई मात्र देख्ने सरकार तिमीलाई हाम्रो समर्थन चाहिँदैन रहेछ !’
नाउपाले केन्द्रमा र सुदूरपश्चिम प्रदेशमा सरकारलाई समर्थन गरेको छ । यद्यपि, सरकारमा सहभागी भने भएको छैन । सुदूरपश्चिम प्रदेशमा नाउपाको निर्णायक मत रहेको छ । पक्राउ परेका चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो । तर, अदालतको उक्त फैसला अनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए । त्यसपछि उनी चुनाव लडेर अहिले प्रतिनिधि सभा सदस्य बनेका हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौं