सूचनाको शक्ति - The Power Of Information

        

सरकारी कर्मचारीद्वारा जुम्लामा आत्मदाह प्रयास

नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एक जनाले आत्मदाह प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि बाँकेको कोहलपुर नगरपालिका–११ स्थायी घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन् ।

भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन् । जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ ।

जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले एक पुरुषले आत्मदाहको प्रयास गरेको जानकारी दिइन् । ‘उहाँले रवि लामिछानेलाई गृहमन्त्री नबनाएको भन्दै आफ्नो शरीरमा आगो लगाउनु प्रयास गर्नुभएको रहेछ । तर, लाइटर बलेन,’ सहायक प्रमुख जिल्ला अधिकारी रिजालले भनिन् । उनका अनुसार उक्त पुरुषले आफ्नो पूरै शरीरमा पेट्रोल झर्केका थिए । तर, आगो लगाउन खोज्दा लाइटर नबलेकाले जल्न पाएन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत थिए । ‘देशमा जताततै भ्रष्टाचार र अनियमितता छ, रविले पनि न्याय पाएनन्,’ उनले प्रहरीसँग भनेका छन्, ‘रवि लामिछानेलाई न्याय चाहियो । उनले त न्याय नपाउने देशमा बाँचेर के गर्नु ?’ पेट्रोल शरीरमा खन्याइसकेका उनलाई आगो लगाउनुपहिले नै जोगाएको हो । उनले प्रहरीलाई पेट्रोल जुनसुकै पम्पले दिने भन्दै त्यहीँबाट ल्याएर आएको बताएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १५:५६