नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाइ उडान व्यवस्था लागू गर्ने भएको छ ।
प्राधिकरणले आन्तरिक हवाइ उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाइ उडान व्यवस्था लागू गर्न लागेको हो ।
उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नेपाली आकाशमा हवाइ उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि हवाइ उडान सम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको बताए ।
उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३–३ वा ६–६ महिनामा नेपालको हवाइ उडान क्षेत्र सुरक्षित बनाउनको लागि नियम परिर्माजन गर्ने गरिएको बताए ।
२७ जनवरीदेखि ३१ जनावरीसम्म प्राधिकरण आन्तरिक र हवाइ उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरुसँगको छलफलबाट पाँच वटा नियम लागू गर्ने तयारी गरिएको पनि प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।
उनका अनुसार विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको र प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्था अनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने व्यवस्था गर्न लागेको छ ।
प्राधिकरणका सूचना अधिकारी भुलले हाल दैनिक दस घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेको बताए । उनले आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने बताए ।
उनले पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्ने बताए ।
उनले चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागेको बताए । उनले वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको बताए ।
सत्यपाटी संवाददाता । काठमाडौं