सूचनाको शक्ति - The Power Of Information

        

१८ सय मिटर सडक पाँच वर्षसम्म अधुरै

निर्माण पूरा नभएको खजुराको सडक ।

बाँकेको खजुरा गाउँपालिकामा रहेको १८ सय मिटर नेपालगन्ज–गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । वि.सं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रु २१ करोड ४९ लाखमा चार लेन सडक निर्माणको जिम्मा पाएको थियो ।

ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा आफूहरूले दुःख पाएको स्थानीयको भनाइ छ । सम्झौता अनुसार कम्पनीले जिल्लाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको चार लेन सडक निर्माण गर्नुपर्ने थियो ।

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि अझै सडक अपूरो छ । विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माण अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाको भनाइ छ । सडक निर्माणको माग गर्दै स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामीले निर्माण ढिलाई भए पनि ९० प्रतिशत काम पूरा भएको दाबी गरे । उनले यो वर्षसम्म पनि काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाही स्वरूप कालोसूचीमा राखिने बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १४:५७