सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेले भने, ‘मेरो मौनता आजसम्म मात्रै हो’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ । नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारमा सोही पदमा फर्कन दौडधुप गरिरहेका छन् ।

यद्यपि, पार्टीको सङ्कल्पविपरीत चोर बाटोबाट मन्त्री बन्न लागेको तथा पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी रहेका बेला स्वार्थ बाझिने गरी तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । यस विषयमा उनको पार्टीसमेत दुई धारमा विभाजित छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १३:३९