सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा दादुराको सङ्क्रमण कायमै, ३०९ बालबालिका सङ्क्रमित

बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म ३०९ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाका बालबालिका प्रभावित भएका छन् ।

दादुराको सङ्क्रमणबाट अहिलेसम्म नेपालगन्जमा एक जनाको मृत्यु भइसकेको छ । खोप फोकल पर्सन श्रेष्ठका अनुसार यहाँ अहिलेसम्म २१३ सङ्क्रमित फेला परेका छन् । हालसम्म नरैनापुर गाउँपालिकामा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवा गाउँपालिकामा १८, कोहलपुर नगरपालिकामा नौ र राप्तीसोनारी गाउँपालिकामा सात जनालाई दादुरा सङ्क्रमण पुष्टि भएको छ ।

यीमध्ये १० जनाको उपचार भइरहेको छ । नेपालगन्जका एक सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने राप्तीसोनारीका सात र कोहलपुरका दुई बालबालिका ‘होम आइसोलेशन’मा रहेको खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिए । दिनहुँ सङ्क्रमण फैलिरहँदा बालबालिका निको हुने क्रम पनि चलिरहेको छ ।

हालसम्म नेपालगन्जका २११, नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका सात जना गरी बाँकेमा २९८ जना बालबालिका निको भइसकेका छन् । नेपालगन्जमा सङ्क्रमण केही कम भए पनि ग्रामीण क्षेत्रतिर बढिरहेकोले दादुरा सङ्क्रमण रोक्न ठाउँ–ठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको र यसलाई थप तीव्ररुपमा अघि बढाइएको पनि स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ११:२७