आज विश्व सिमसार दिवस मनाइँदैछ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन ।
सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।
उनले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताए । ‘तालतलैया, पोखरीको सांस्कृतिक महत्व पनि छ यो मानवीय परम्परासँग जोडिएको छ,’ उनले भने ।
उनका अनुसार कसैले माछा मार्ने, कसैले पूजा गर्ने लगायतका क्रियाकलाप भइरहेका हुन्छन् । सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका उनी बताउँछन् ।
प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताए । उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताए ।
‘निकुञ्जभित्र हामीले बेला–बेला सरसफाइ गर्ने गरेका छौँ ताल पुरिने समस्या छ,’ उनले भने, ‘निकुञ्जभित्रको रानी ताल सुकिसकेको छ ।’ उनले पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको बताए । सिमसारमा हुने घाँसको तत्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन् ।
प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्करुपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउँछन् । ‘जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्वपूर्ण छ यसको संरक्षणमा जोड दिनुपर्छ,’ उनले भने ।
सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विशेष पहल गर्नु आवश्यक रहेको उनले बताए । यहाँका बेतकोट ताल, झिलमिला ताल लगायतका सिमसार क्षेत्र पुरिन थालेका छन् । सिमसार क्षेत्रमा सयौँ जलीय र स्थलिय बोटबिरुवा र जनावर प्रजातिलाई आश्रय दिएको वन विज्ञान प्रतिष्ठान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रितु जोशीले बताए ।
‘सिमसार उभयचर र सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ उनले भने, ‘सिमसार क्षेत्रले बाढी नियन्त्रणसमेत गर्दछ ।’ कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रम र कतै बर्सेनि पुरिँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी रहेको छ ।
सत्यपाटी संवाददाता । दोधारा चाँदनी