राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र विवाद सुरु भएको छ । सभापति रवि लामिछानेले गृह मन्त्रालय आफुले पाउनुपर्ने र नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि पार्टीभित्र विवाद चुलिएको हो । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछाने नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट लाग्दै आएको छ ।
गत शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका लामिछानेले आइतबार नागरिकता लिए । नागरिकता लिएलगत्तै पार्टीको सभापति बनेका लामिछानेले आफ्नो गुमेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खोजेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ पाइरहेका रबिले त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् ।
प्रचण्डले भने लामिछानेलाई मन्त्री बनाउन चाहेका छैनन् । उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल रवि र उनको पार्टीलाई नगृह मन्त्रालय नदिने बताउँदै आएका छन् । लामिछानेको यही सक्रियतालाई पार्टीभित्र शंका गर्न थालिएको छ । रास्वपाका एक केन्द्रीय नेताले भने, ‘सभापतिजीले आफ्नै लागि गृह मन्त्रालय माग्नुभएको भन्ने प्रष्ट त छैन । तर उहाँले पार्टीकै लागि माग्नुभएको हो भन्ने पनि प्रष्ट छैन ।’
ती केन्द्रीय नेताका अनुसार रबि लामेछानेका गतिविधिले रास्वपा पनि अरूभन्दा फरक हुन नसकेको भन्ने प्रश्न उठेको र यो स्वाभाविक हो । रविले पार्टीमा यस विषयमा कुनै छलफल समेत नगरेको तीन नेताले बताए । पार्टीका बैठकमा समेत लामिछानेले कसैको प्रश्न सुन्न चाहँदैनन् भन्ने आरोप लाग्दै आएको छ । लामिछानेका गतिविधिले सांसदहरू समेत असन्तुष्ट बनेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं