सूचनाको शक्ति - The Power Of Information

        

माओवादी स्थायी समिति बैठक आज बस्दै

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ ।

मिति तोकेर पनि लगातार दुई दिनसम्म स्थगित गरिएको बैठक बिहीबार बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक सुरू हुनेछ ।

मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘गृहकार्य’ नसकिएको भन्दै बुधबारको लागि सारिएको थियो । गृह मन्त्रालयको विवादले सत्तारुढ दलहरुबीच खटपट सुरू भएपछि बुधबार पनि नबसेर बैठक बिहीबारका लागि सारिएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको थियो । बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदलले तयार पारेको नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव बिहीबारको स्थायी समिति बैठकमा पेस गरिनेछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ०८:४१