२०८० सालको दशैँ कात्तिकमा पुगेको छ । घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ । फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन् । कोजाग्रत पूर्णिमा कात्तिक ११ गते परेको छ ।
‘यो वर्ष साउनमा अधिकमास अर्थात् मलमास परेका कारण हिउँदका चाडपर्व सरेका हुन्,’ नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘यो वर्ष साउन २ गते देखि ३१ गतेसम्म अधिक मास रहनेछ ।’ समितिबाट स्वीकृति पाई प्रकाशित पात्रोका अनुसार मलमासअघिका चाडपर्व भने अगाडि आएका छन् ।
जस्तै आमाको मुख हेर्ने दिन वैशाख ७ मा नै परेको छ । अक्षय तृतीया पर्व वैशाख १० गते छ । वैशाख शुक्ल पूर्णिमामा मनाइने बुद्धजयन्ती वैशाख २२ गते परेको छ । चण्डीपूर्णिमा र उधौली पर्व पनि यही दिन मनाइन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी असार १४ गते परेको छ । यो दिन तुलसीरोपण गरिन्छ ।
गुरुपूर्णिमा असार १८ गते छ । गुरुपूर्णिमाको एक महिनामा पर्नुपर्ने जनैपूर्णिमा वा रक्षाबन्धन अधिक मासका कारण भदौ १४ गते परेको छ । तिथिको घटबढका कारण नेवार समुदायले गाईजात्रा पर्व पनि त्यही दिन मनाउनेछ । ५ घटी १८ पला पूर्णिमापछि त्यसै दिन प्रतिपदा लाग्ने भएकाले दुवै पर्व एकैदिन परेको पञ्चांगमा उल्लेख छ ।
नागपञ्चमी भने भदौ ४ गते परेको छ । यस्तै श्रीकृष्ण जन्माष्टमी पर्व भदौ २० गते मनाइने छ । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन भदौ २८ गते परेको छ । असोज १ गते तीज परेको छ । गणेश चतुर्थी र ऋषि पञ्चमी असोज २ गते परेको छ । त्यो दिन १२ घटी २५ पलासम्म चतुर्थी र त्यसपछि पञ्चमी लाग्ने बताइएको छ ।
सोह्र श्राद्ध असोज १३ गते सुरु भई २७ सम्म रहनेछ । तिहारको लक्ष्मीपूजा कात्तिक २६ गते परेको पञ्चांगहरूमा उल्लेख छ । त्यसै दिन बिहान कुकुरपूजा गरिनेछ । भोलिपल्ट २७ गते औँसीका दिन गाईपूजा गर्न निर्देश छ । सोमबार परेको औँसी भएकाले सोमबारे औँसी पनि मनाइनेछ । कात्तिक २८ गते गोवर्धन पूजा गरिनेछ ।
यसैदिन नेपाल संवत् ११४५ शुरु हुनेछ । नेवार समुदायले यो दिन म्हपूजा गर्नेछ । कात्तिक २९ गते भाइटीका परेको छ । छठपर्व मंसिर ३ गते परेको छ । ठूली एकादशी अर्थात् हरिबोधिनी एकादशी मंसिर ७ गते परेको छ । चतुर्मास पूरा हुने पूर्णिमा मंसिर ११ गते छ । पितृको सम्झनामा पशुपतिनाथमा शतबीज छर्ने दिन अर्थात् बाला चतुर्दशी मंसिर २५ गते परेको छ ।
जनकपुरको विशेष दिन विवाह पञ्चमी पुसको १ गते परेको छ । मंसिरे पूर्णिमा अर्थात् धान्य पूर्णिमा पुस १० गते छ । यो दिन नेवार समुदायको योमरी पुन्हि पर्छ भने किरात समुदायले उभौली पर्व मनाउँछ । तीर्थस्थलमा श्राद्ध गर्ने ‘पौषे औँसी’ पुस २६ गते परेको छ । माघ शुक्ल प्रतिपदामा मनाइने सोनम ल्होसार माघ २७ गते परेको छ । पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत आरम्भ गर्ने पूर्णिमा माघ ११ गते परेको छ ।
वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमी फागुन २ गते छ । स्वस्थानी व्रत भने फागुन १२ गते समापन गरिनेछ । फाल्गुण शुक्ल पूर्णिमामा मनाइने फागु पूर्णिमा चैत ११ गते मनाइनेछ । ११ गते ९ घटी ३८ पलासम्म चतुर्दशी रही पूर्णिमा तिथि लाग्ने उल्लेख छ । तराई–मधेश क्षेत्रमा १२ गते होली मनाइनेछ । पहाडी क्षेत्रमा पूर्णिमामा र तराई क्षेत्रमा प्रतिपदामा फागु वा होली मनाउने प्रचलन छ । काठमाडौं उपत्यकाको विशेष पर्व घोडेजात्रा चैत २६ गते परेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं