सूचनाको शक्ति - The Power Of Information

        

९ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।

दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए ।

पाण्डेका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको उनले बताए ।

उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए । सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आइएको छ । यसअघि १९ केजी सुनसहित गत महिना दुई सुडानी पक्राउ परेका थिए ।

बुधबार राति बरामद गरिएको सुन पनि त्यसैको निरन्तरता हुन सक्ने अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन् । सुडानी र क्यानडेली नागरिकको संलग्नता र नेक्ससमामाथि केन्द्रित भएर पनि अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ०८:३१