यो दुनियाँमा सुन्दरता नचाहने को होलान् ? सुन्दरता कसलाई मन पर्दैन र ? सुन्दरताको विरोधी पनि छैनन् ! अनि आफू सुन्दर बन्न नचाहने पनि छैनन् ! सबैको चाहना हुन्छ आफू सुन्दर बन्ने । आफ्नो घरलाई सुन्दर बनाउने । सबैलाई लाग्छ–आफ्नो गाउँ, सहर र देश सुन्दर होस् । तर, को कति सुन्दरताको पछि लाग्छन् त्यो भने फरक हुन्छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) पनि सुन्दरताको पछि निकै लाग्ने गरेका छन् । सुटबुटमा सजिन्छन् । कालो टोपी ढल्काउँछन् । कालै चस्मा लगाउँछन् । आफू मात्र होइन, आफ्नो नगरलाई पनि सुन्दर बनाउने उनको चाहना छ । काठमाडौंलाई सुन्दर बनाउने हुटहुटी छ ।
मेयर निर्वाचित हुनासाथै उनले काठमाडौँलाई विश्वकै सुन्दर सहर बनाउने प्रतिवद्धता नै गरेका थिए । विजयी र्यालीमै भनेका थिए, ‘हामी सबै मिलेर काठमाडौंलाई देशको मात्र नभई विश्वकै सुन्दर नगर बनाउने छौँ ।’ काठमाडौंलाई सुन्दर बनाउने उनले काम पनि थाले । फुटपाथमा व्यापार गरेको मन परेन ।
त्यसले आफ्नो नगरलाई कुरूप बनाएको भन्ने लाग्यो । आफ्नो सेना (नगर प्रहरी)लाई आदेश दिए, फुटपाट व्यापारीले काठमाडौंलाई कुरूप बनायो, तत्काल हटाउनुपर्यो । आदेश मान्नैपर्यो । नगर प्रहरीले फुटपाथ व्यापारीमाथि ‘बहादुरी’ देखाउन थाल्यो । फुटपाथ व्यापारीलाई लखेट्न थाले । सामानहरू फालिदिए । खोसेर लगे ।
सामान खस्दाका भावुक दृश्यहरू छरपस्ट भए । महानगरको उक्त शैलिप्रति धेरैले आक्रोश पोखे । चौतर्फी विरोध भयो । व्यापारीले महानगर घेर्नेसम्मको काम गरे । तर, नगर प्रहरीको ‘बहादुरी’ रोकिएन । गत असारमा नगर प्रहरीले ‘बहादुरी’ देखायो । बालुवाटारमा मकै पोल्न बसेका दम्पती चेतेन्द्र आचार्य र सीता आचार्यलाई सडकबाट लखेटे ।
लछारपछार गरे, अपराधीलाई जस्तै । असोजमा नगर प्रहरीको अर्को ‘बहादुरी’ देखायो । थापाथलीमा पानीपुरी र चटपटे बेच्दै गरेको एउटा ठेलागाडा उठायो । चटपटे र पानीपुरी बेच्ने सर्मिला तामाङले ठेलागाडा नलगिदिन निकै अनुनय विनय गरे । तर, नगर प्रहरीलाई ‘बहादुरी’ देखाउनु थियो ।
हुन त नगर प्रहरीसँग पनि मानवीयता त थियो होला ! तर, उसको लागि मानवीयता भन्दा ठूलो आदेश थियो । जागिर थियो । त्यसबेला पनि बालेनको निक्कै आलोचना भयो । तर, सुन्दरताको खोजीमा भौँतारिएका बालेनलाई फरक परेन । आफ्ना सेनालाई ‘कुरुप’ कुराहरू हटाउन आदेश दिइरहे ।
बालेनलाई फुटपाथ व्यापारी, मकै पोलेर धुवाँ उडाएको र ठेलागाडामा पानीपुरी–चटपटे बेचेको मनै परेन । उनलाई ह्विलचेयरमा हिँड्ने पनि मन परेन ! ह्विलचेयरमा बसेर मास्क बेच्नेलाई उनको ‘सेना’ले उठायो । ट्रकको पछाडि ह्विलचेयरमै राखेर लग्यो । अहिले उक्त तस्बिरले सामाजिक सञ्जाल तरंगित भएको छ ।
नगर प्रहरीले अर्को झन् ठूलो ‘बहादुरी’ काम गरेको भन्दै टिप्पणी भइरहेको छ । सो तस्बिर बुधबार गोरखापत्र दैनिकको पहिलो पृष्ठमै प्रकाशित भएको थियो । महानगरले जबर्जस्ती गरेपछि उनी भक्कानिएर रोएका थिए रे । उनलाई नजिकबाट देख्नेहरू त्यसै भन्छन् । ह्विलचेयरमा बसेर मास्क बेच्दै आएका व्यक्ति हुन्, दोलखाका डिल्लीबहादुर कार्की ।
उनले काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै थिए । त्यसैबेला उनलाई नगर प्रहरीले उठाएर ट्रकमा हालेको थियो । कार्कीलाई नगर प्रहरीले ह्विलचेयरमा ट्रकको पछाडि राखेर लानु अमानवीय काम भन्दै चौतर्फी आलोचना भइरहेको छ । आफूलाई सुन्दर बनाउन कालो चस्मा लगाउने मेयरले मानवीयता सुन्दरता देखेनन् ।
कालो चस्माले मानवीयता सुन्दतार देखिँदैन रहेछ क्यारे ! सुटबुट र कालो चस्मा लगाउँदा मात्रै मान्छे सुन्दर हुँदैनन् । व्यवहार पनि सुन्दर हुनुपर्छ । आफ्नो मानवीय मूल्य पनि बनाउनुपर्छ । मानवीय भावना जगाउनुपर्छ । मान्छे जे पनि बन्न सक्छन् । डाक्टर, नेता, कलाकार । तर, त्योभन्दा पहिले बन्नुपर्छ, मानवीय गुणयुक्त मान्छे । त्यसैले भनिन्छ, महत्वपूर्ण हुनु राम्रो कुरा हो, तर मानवीय हुनु अधिक महत्वपूर्ण कुरा हो ।
सत्यपाटी संवाददाता । काठमाडौं