सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस सभापति देउवाविरुद्धको रिट दरपीठ

नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेल सर्वोच्चमा निवेदन दिनुभएको थियो ।

पोखरेलले कांग्रेस संसदीय दलको नेता देउवालाई विपक्षी दलको नेताका रुपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता नतोक्न परामादेश दिनुपर्ने माग गर्नुभएको थियो । तर,सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले उक्त रिट दरपीठ गर्नुभएको छ ।

कुन दललाई विपक्षी दलको मान्यता दिने भन्ने विषय संसदको आन्तरिक विषय भएको र यस्तो विषयमा अदालतमा प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था भएकाले रिट दर्ता गर्न नमिल्ने रजिष्टारको निर्णयमा उल्लेख छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १८:०३