मन्त्रीले नै संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दलकै सांसदहरूबीच नै जुहारी चलेको छ । केही दिनअघि एक अन्तर्वार्तामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संघीयता खारेजी तथा हिन्दु धर्मका पक्षमा अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा सत्तारुढ गठबन्धनकै सांसदहरुबीच जुहारी चलेको हो । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै मन्त्रीहरुको अभिव्यक्तिप्रति एमाले सांसद रघुजी पन्त, माओवादी केन्द्रका सांसद शक्ति बस्नेत र जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले विरोध जनाएका हुन् ।
तर राप्रपाका सांसदले भने त्यसको प्रतिवाद गरेका छन् । कानुनमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रियसभा बैठकमा सचेत गराएको भए पनि शहरी विकासमन्त्रीको त्यस्तै अभिव्यक्ति आएको भन्दै सांसद बस्नेतले भने, ‘आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझ्नु मुलुकको लोकतन्त्रका लागि राम्रो होइन ।’
सडक र संसद्मा संविधानका प्रावधानका विषयमा हुने बहस स्वीकार्य हुने बताउँदै त्यसको कार्यान्वयन गर्ने सरकारमा बसेर विरोधी अभिव्यक्ति दिने काम स्वीकार्य नहुने उनले बताए । उनले भने, ‘संसद् र सडकमा यो बहस स्वीकार्य होला । सांसदहरुले त्यहाँ आ–आफ्नो मूल्य र मान्यता स्थापित गर्लान् । स्वधीनता, अखण्डता र जनतामा निहित सार्वभौमसत्ता बाहेक उदार पनि छ । क्याबिनेट र क्याबिनेटका सदस्यले गर्ने टिप्पणी स्वीकार्य हुँदैन ।’
धर्मको नाममा राजनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेश कुनै पनि देश शान्त नभएको भन्दै उनले संविधानले मार्गनिर्देश गरेको विषयबाट विचलित हुन नहुने बताए । मन्त्री भएर क्याबिनेटमा राय बझाउन थाल्छौं भने यसले देशलाई कुन बाटोमा लैजाने हो भन्ने भ्रम उत्पन्न हुने एमाले सांसद पन्तले बताए ।
उनले भने, ‘राप्रपाको आफ्नो विचार होला, त्यो दलले आफ्ना कुरा भन्न सक्छ, सांसदहरुले भन्न सक्छन्, तर मन्त्री भएर यसरी संविधानको बर्खिलापमा बोल्नु संविधान विपरीत हो ।’ उनले संघीयता र धार्मका विषयलाई लिएर सरकारमा बस्नको टिप्पणी देशलाई विभाजनतर्फ लैजाने बताए ।
‘यो तरिकाले धार्मिक द्वन्द्व र अन्धभक्ततामा जान सक्छौं । धर्मले धेरै ठाउँ जोडेको छ र तोडेको छ । यही देशका सपुतले प्रतिपादन गरेको बुद्धिज्म शान्तिको सूत्र बनेको छ । धार्मिक सहिष्णुताको बाटो देखाउने देशमा कुनै धर्मलाई काखी च्याप्नुपर्दैन ।’ जसपाका सांसद यादवले राज्य संयन्त्रको दुरुपयोग गरेर संविधान विरोधी अभिव्यक्ति दिइएको भन्दै मन्त्रीको बर्खास्तीको माग गरेका छन् ।
उनले भने, ‘संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखिएको छ । मन्त्री त्यसको बर्खिलाप बोल्दै हिँडेको छ । यो राजनीतिक बेइमानी हो । यो धुर्त्याइँ हो । यस्ता अनुशासनहीन मन्त्रीलाई बर्खास्त गर्नुपर्छ । समानुपातिक समावेशी दहेजबाट आएको होइन । आन्दोलनबाट स्थापित आएको हो । त्यसैले मनमा होला भनेन जनताको बीचमा जानुपर्छ ।’
सत्तारुढ दल राप्रपाका सांसद डा.धवलशम्शेर राणा र ज्ञानेन्द्र शाहीले त्यसको प्रतिवाद गरेका छन् । आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको भन्दै उनले भने, ‘यो संविधानले रोक्दैन । हामीले बोल्न पाउनुपर्छ, बोल्छौं । हामी नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौँ । हामी फेरि राजासहितको प्रजातन्त्र स्थापना गर्न गरेरै छाड्छौं ।’
उनले पूर्ववक्ता सांसदहरूले राप्रपामाथि प्रहार गरेको बताउँदै भने, ‘मैले पार्टीको कुरा नगर्ने बिचार गरेको थिएँ तर माननीयज्यूले प्रहार गर्नुभयो । यो कुरा सत्य हो राप्रपा पार्टी सानो होला तर हामी नेपाली जनताको मनमा भिजेका छौँ । हामी नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौँ । हामी फेरि राजा सहितको प्रजातन्त्र स्थापना गर्न आएका छौँ र त्यो कुरा संविधानले रोक्दैन ।’
राप्रपाका अर्का सांसद शाहीले रघुजी पन्त र शक्ति बस्नेतको भनाई प्रति नियमापत्ति जनाए । उनले नेपालको संविधानको धारा २७४ नम्बरमा नेपालको केही विशेष कुराहरू परिवर्तन गर्न नसकिने उल्लेख गरेको बताउँदै गणतन्त्र चाहिन्छ कि चाहिँदैन भन्ने कुरा यही संसदबाट निर्णय गर्न सकिने बताए ।
उनले सांसद पन्तले हिन्दु धर्मको कुरा गर्दै भारतको नाम लिएको बताउँदै राम सीता नेपाली भूमिकै भएको, ऋषिमुनीहरुले बेद नेपालमै रचना गरेको टिप्पणी गरे । उनले संसदमा आस्तिक र आस्तिकको कुरा ल्याउन आवश्यक नभएको भन्दै उनीहरूको कुरा फिर्ता लिन आग्रह गर्दै नियमापत्ति प्रकट गरे ।
सत्यपाटी संवाददाता । काठमाडौं